Logo

सिमा विवादबारे वार्ताका लागि संविधान संशोधन प्रस्ताव रोक्नुपर्ने भारतको शर्त



काठमाडौं, १५ जेठ । भारतले नेपालसँगको सिमा विवादबारे वार्ताका लागि तयार भएको आधिरिक धारणा सार्वजनिक गरिसकेको छ । तर, उसले वार्ताका लागि वातावरण बनाउन भनेको थियो ।

लिपुलेक भएर भारतले चीनसँग जोड्ने लिंकरोड निर्माण गरेपछि नेपालले आपत्ती जनाएर उक्त भुभाग समेटेर नक्शा जारी गरेपछि भारतको धारणा आएको थियो । जसमध्ये वार्ताको वातावरण बनाउन गरिएको आग्रह पनि थियो ।

भारतले सिमा विवाद सल्टाउन नेपालसँग वार्ताका लागि शर्त राखेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार नयाँ नक्शा पारित गर्न संविधान संशोधनको प्रक्रिया रोक्न भारतले आग्रह गरेको छ । रिपोर्टर्स नेपाललाई प्राप्त जानकारी अनुसार भारतले अनौपचारिक ढंगबाट संविधान संशोधनका प्रस्ताव रोक्न भनेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कुटनीतिक एवं राजनीतिक च्यानलमार्फत् भारतका प्रधानमन्त्रीसँग कुराकानीको प्रयास गरिरहँदा भारतीय पक्षले शर्त सारेको हो । नक्शा संसदमा दर्ता भइसकेको र छलफलका लागि १४ जेठमा पेश हुनुपर्ने कार्यसुची भएपनि स्थगित गरिएको छ । यसलाई निकै अर्थपूर्ण मानिएको छ ।

नक्शा सार्वजनिक पछि भारतभित्र नेपालप्रति नकारात्मक धारणा बढ्दै गएपछि विभिन्न च्यानलमार्फत् वार्ताको दबाब बढेको छ । नेपाल मामलाका जानकार जनरल अशोक मेहताले तत्काल वार्तामा जोड दिएका छन् । उनले अनलाइनबाट भएपनि दुई देशबीच वार्तामा जोड दिएका छन् । एक हप्ताभित्र वार्ता गर्नुपर्ने उनको भनाई यसै हप्ता सार्वजनिक भएको थियो ।

लिपुलेकका विषयमा नेपालको आपत्तीप्रति भारतीय सेनापति एम एम नरवाणेले चीनप्रति संकेत गर्दै कसैको उक्साहट भने । उनको भनाईप्रति संकेत गर्दै निम्छरो भनी प्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गरेका थिए । चीनका लागि नेपालका राजदुत महेन्द्र पाण्डेले सेनापति नववाणेको अभिव्यक्ति नेपाललाई थ्रेट गरिएको भनेका थिए ।

भारतभित्र पनि नेपालको पछिल्लो घटनाक्रमको तिव्र प्रतिक्रियाहरु आइरहेका छन् । भारतका पूर्व जर्नेल गगन दिप बक्सीले भारतले हिन्दु राष्ट्र ध्वस्त पार्न कम्युनिस्टलाई प्रयोग गर्नु आत्मघाती गोल भनेका छन् । उनले नेपालमा चीनको उक्साहटमा पछिल्लो गतिविधि भइरहेको टिप्पणी गरे ।

एकातर्फ नेपाल र भारत दुवैतर्फ द्वन्द्व बढाउने अभिव्यक्ति र गतिविधिहरु भइरहेका छन् भने अर्कोतर्फ कुटनीतिक तरिकाले वार्ताबाट सहमति खोज्नुपर्ने जोडबल भइरहेका छन् । भुगोलले जोडिएका इतिहास र संस्कृतिका कतिपय समानताले निकट भएका दुवै देशबीच सहमतिको बिन्दु खोज्नुको विकल्प भने छैन । यसका लागि तत्काल वार्ताको अपरिहार्यता भने देखिइसकेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot