तेजेन्द्र पाण्डेय । बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा थप चहलपहल थियो । त्यसको कारण हो-नया प्रहरी नायब उपरीक्षकहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्ने । प्रहरी निरिक्षकबाट प्रहरी नायब उपरीक्षक (डिएस्पी) पदमा बढुवा भएका ६० जनालाई महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्री समेतले संयुक्त रुपमा दर्ज्यानी चिन्ह लगाइदिएका थिए ।
प्रायजसो बढुवाको फुली थपिँदा बढुवा हुनेहरु मुहारको मुस्कान देखिनेगरि उपस्थित हुने गरेको पार्इन्थ्यो । थप जिम्मेवारी प्राप्त गर्दा देखिने मुस्कान भने यसपाली मास्कको नियन्त्रणमा रहयो । कोभिड-१९ भाइरस महामारीको कारण प्रायः मास्कको प्रयोग अनिवार्य भएको छ। सामाजिक दूरी कायम गर्नु परेकाले दर्ज्यानी चिन्ह प्रदानमा आजभोली केही समस्या देखिने गरेको पाइन्छ ।
दर्ज्यानी चिन्हबाट सुशोभित भएका केही डिएस्पीहरुले यसलाइ पहिलाको बढुवाको समयभन्दा केहि फरक अनुभव भएको प्रतिक्रिया दिएका छन् । तर, पहिलोपटक बढुवा भएकाहरुले भने यो समय थप सम्झनायोग्य भएको पनि प्रतिक्रिया दिए । मास्कको कारण देखिने र चिनिने गरि फोटोसमेत खिच्न गाह्रो भएको उनीहरुको भनाइ छ ।
पहिलो नम्बरमा बढुवा भएका पृथ्वीनारायण ओलीले यसपालीको समय थप रमार्इलो भएको बताए । कोभिड १९ को कारण रातदिन ड्युटी गरिरहेको अवस्थामा प्राप्त थप जिम्मेवारीले हौसला थपेको ओलीको भनाई थियो । परिस्थितिअनुसार भेला हुनै कठिन भएको बेलामा मास्कसहितको दर्ज्यानी चिन्ह झन हर्षको विषय भएको उनले बताए ।
फ्रेस समूह अर्थात इन्स्पेक्टरबाट सेवा प्रवेश गर्नेमध्ये पहिलो नम्बरमा बढुवा भएका डिएस्पी सन्जिवबाबु खड्कालाइ पहिलो बढुवाको फुली थाप्दा मास्क लगाउनुपर्यो कस्तो अनुभव गर्नुभयो भनी सोध्दा मुस्कानका साथ भने,यो मेरो पहिलो बढुवा हो ,पहिलो बढुवा भएकै कारण विशेष छ नै, त्यसमा पनि दर्ज्यानी चिन्ह ग्रहण गर्दा मास्क लगाउनु पर्यो अझ झन सम्झनयोग्य भयो ।
दर्ज्यानी चिन्ह प्रदान गर्ने आईजिपी ज्ञवाली, एआईजी क्षेत्रीलगायतका प्रहरी विशिष्ट अधिकारी पनि मास्क लगाएरै उपस्थित् हुँदा माहोल केही अनौठो देखिएको थियो । करिब २ महिना अवधिभित्रका सबै बढुवामा दर्ज्यानी चिन्ह प्रदान गर्दा मास्क प्रयोग गरेर नै गरिएको छ । उक्त ६० जना बढुवा हुँदा ४ जना बढुवा भएका महिला प्रहरीमध्ये शीर्ष स्थानकी डिएस्पी पुर्णिमा कुमारी चन्द भने अर्को बढुवामा मास्क लगाउनुपर्ने परिस्थिती हट्नेमा आशाबादी छिन् ।
अहिलेको महामारी रोकथाम र नियन्त्रणका लागि आफुहरु जनसेवामा रातदिन खटिएको कुरा उल्लेख गर्दै यो महामारी छिटो अन्त्य होस भन्ने चाहना व्यक्त गरिन् । बढुवा लिस्टको २१ नम्बरमा रहेकी अर्कि प्रहरी नायब उपरिक्षक चन्चला श्रेष्ठले परिस्थितीअनुसार नयाँ अनुभव प्राप्त भएको प्रतिक्रिया दिईन्। उनले सङ्गठनबाट आफुलाइ थपिएको जिम्मेवारीलाई कर्तब्यनिष्ठ साथ पूरा गर्नुनै प्रमुख कर्तव्य भएको समेत बतार्इन । चन्द र श्रेष्ठबाहेक शर्मिला गुरुङ्ग र रुपा लाबुङ्ग पनि डिएस्पीमा बढुवा भएका छन्।
उक्त समूहमै दर्ज्यानी चिन्ह प्राप्त गरेका डिएस्पी शिवराज बुढाथोकीले अरु बेलाभन्दा यसपालिको समयमा केही फरक महसुस भएको बताए । २०६४ सालमा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका उनले आफ्नै साथिभाइै चिन्न पनि नजिक पुग्नुपर्ने अवस्था आएको अनुभव सुनाए। बढुवा समितिले गत जेठ ४ गते ६० जना प्रहरी निरीक्षकलाइ प्रहरी नायब उपरीक्षकमा बढुवाका लागि सिफारिस गरेको थियो । त्यसको ९ दिनपछि अर्थात जेठ १३ गते गृह मन्त्रालयले उक्त सिफारिस सदर गर्दै ६० जना सबैलाइ बढुवा गर्ने निर्णय गरेको हो ।
गृहको निर्णयको भोलिपल्ट प्रहरी प्रधान कार्यालयले दर्ज्यानी चिन्ह शुसोभनको कार्यक्रम राखेको हो । ६० जनाको समूहका ३३ जना डिएस्पीले इन्स्पेक्टरबाट सेवा प्रवेश गरेका हुन् । जसअन्तर्गत २०६७ सालको समुहका ३१ जना छन भने २ जना चाहीँ २०६४ सालको समुहका छन । रविराज थपलिया र मोहनबिक्रम दाहाल २०६४ सालका इन्स्पेक्टर हुन । बाँकी २७ जनाले प्रहरी जवान र प्रहरी सहायक निरीक्षक पदबाट सेवा प्रवेश गरेका थिए । तस्बिर : सन्जिवबाबु खड्काको फेसबुकबाट