Logo

इन्टरनेट र फोन समस्याले आजित



काठमाडौँ, १६ जेठ । साविक धवलागिरि अञ्चलका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा पछिल्लो केही दिनयता फोन र इन्टरनेटको समस्याले सेवाग्राही आजित बन्न थालेका छन् ।

देशमा जारी बन्दाबन्दीले नागरिक घरभित्रै बस्नुपरेको बाध्यात्मक अवस्थामा अहिले इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या अधिक भए पनि छिनछिनमै जाने फोनको नेटवर्क र इन्टरनेटले धवलागिरिवासीलाई आजित बनाएको छ । इन्टरनेट र टेलिफोन सेवा पछिल्ला केही दिनमा पटक–पटक अवरुद्ध हुन थालेपछि सेवाग्राही समस्या खेप्न बाध्य भएका छन् । पूर्ववत सूचनाबिना नेपाल टेलिकमले घण्टौँसम्म फोन, इन्टरनेट अवरुद्ध गराउँदा सेवाग्राही अन्योल र मारमा परेको बागलुङकी स्थानीय सविता शर्माले गुनासो गरेका छन् ।

“मोबाइलमा नेटको टावर देखिन्छ तर काम नगरेपछि मोबाइल नै बिग्रियो कि भनेर बन्दाबन्दीकै बीच मोबाइल पसल खोज्दै गएँ”, शर्माले भने, “त्यहाँ पुगेर देखाउँदा पसलेले मोबाइल बिग्रिएको नभइ इन्टरनेटले नै काम नगरेको भनेपछि फर्किए ।” बागलुङमा पछिल्लो समय विद्युत्सँगै इन्टरनेटसमेत अवरुद्ध हुन थालेपछि सेवाग्राहीले टेलिकमप्रति असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।

नेपाल टेलिकम बागलुङ शाखाले भने सडक निर्माणकार्यमा समन्वय नगरी डोजर चलाउँदा फाइवर काटिने र पटक–पटक अवरुद्ध हुने गरेको बताएको छ । नेपाल टेलिकम बागलुङ शाखाका प्रमुख केशव शर्माले पछिल्लो साता फाइवर नेटमा धेरै समस्या आएको स्वीकार गरेका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot