Logo

सिमा विवादमा नेपाल र भारतको आ आफ्नै अडान, तत्काल वार्ता होला ?



काठमाडौं, १६ जेठ । सिमा विवादमा नेपाल र भारतको आ आफ्नै अडानले तत्काल वार्ताको वातावरण बन्न सकेको छैन । लिपुलेक हुँदै भारतले चीनसँग जोड्ने लिंकरोड खोलेपछि नेपालले आपत्ती जनाउँदै उक्त भुभागलाई समेटेर नक्शा जारी गरेपछि बढेको विवादमा वार्ताको दबाब बढिरहेपनि तत्काल सम्भावना देखिएको छैन ।

भारतले वार्ताका लागि वातावरण बनाउनुपर्ने धारणा सार्वजनिक गरिसकेको छ । उसले गएराति विदेश मन्त्रालयका प्रवक्ता अनुगार श्रीवास्तवमार्फत् समस्या समाधानका लागि सकारात्मक प्रयास आवश्यक पर्नेमा जोड दिएको छ । श्रीवास्तवले भर्चुयल न्युज ब्रिफिङमा भने, ‘नेपालसँगको सिमा विवादबारे भने, हामी यो विषयलाई गम्भीरतापूर्वक लिइरहेका छौं । भारतले छिमेकसँगको सम्बन्धमा आपसी सम्मान, विश्वासको वातावरण र साहसका साथ संलग्न हुने समेत उल्लेख गरेको छ । यी विषयहरुलाई निरन्तरको प्रक्रिया भन्दै रचनात्मक र सकारात्मक प्रयासहरु आवश्यक पर्नेमा जोड दिएको छ ।’

भारतले यसअघि पनि द्विपक्षीय वार्ताको वातावरण बनाउन जोड दिएको छ । विश्वस्त स्रोतका अनुसार भारतले तत्काल संसदबाट नक्शा पारित नगरी वार्तामा बस्न आग्रह गरेको बुझिएको छ । कुटनीतिक तहमा अनौपचारिक कुराकानी भइरहेकोमा वार्ताका लागि शर्तहरु भारते राखेको र नेपाली पक्षले त्यसबारे आफ्नो अडान प्रस्तुत गर्दै आएको छ ।

तर, नेपालले संसदबाट नक्शा पारित गर्ने अडान लिइरहेको छ । सरकारको उच्च स्रोतले नक्शा पारित गरेपनि वार्ता हुनसक्ने सन्देश पठाएको छ । कुटनीतिक तहबाट अनौपचारिक रुपमा नेपालको उक्त सन्देश पाएपछि भारतको धारणा आएको हो ।

अहिले दुवै देश टसमस देखिएका छैनन् । नेपालले नक्शा जारी गरेलगत्तै नेपाल मामलाका भारतीय विज्ञ जनरल अशोक मेहताले तत्काल वार्तामा जोड दिएका थिए । उनले अनलाइनमै भएपनि एक हप्ताभित्र वार्ता गर्नुपर्ने यसै हप्ताको शुरुमा बोलेका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्