Logo

कालीगण्डकीमा पक्की पुल बन्दै



काठमाडौँ, १७ जेठ । गाउँ फर्केका युवालाई रोजगारी दिन प्रदेश नं ५ र गण्डकी प्रदेश जोड्ने कालीगण्डकीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ ।

पाल्पा, रामपुर नगरपालिका १ र तनहुँको घिरिङ गाउँपालिका १ जोड्ने पुट्टारघाटमा निर्माणाधीन पुल निर्माण बन्दाबन्दीले केही समय स्थगन भएको थियो । पुलमा काम गर्ने नेपालगञ्ज र बर्दियाका मजदूरलाई घर पठाएर निर्माणको काम केही समय रोकिएको थियो ।

कोरोना भाइरसका कारण भारत तथा विभिन्न मुलुक, स्थानबाट गाउँ फर्केका युवाले नदीमा पुल निर्माणलाई निरन्तरता दिएर आर्थिक उपार्जन गर्न मौका पाएका छन् । अहिले तनहुँको भागमा पिल्लर हाल्ने काम भइरहेको छ । यसमा यहाँका ५५ युवालाई परिचालन गरिएको छ । बन्दाबन्दीपछि गाउँ आउनुभएका हरिविक्रम दरै पुल निर्माणमा सहभागी हुने अवसर पाउँदा खुशी भएको बताएका छन् ।
हाल यहाँ दैनिक १६ घण्टा काम गरिएको छ ।

निर्माणमा संलग्न युवालाई दैनिक दुई कार्यावधि बनाई आठआठ घण्टामा विभाजन गरेर एक कार्यावधिमा रु आठ सय ज्याला दिने गरी काममा लगाइएको पुल निर्माण समितिका सचिव दानबहादुर मल्लले जानकारी दिएका छन् । हालसम्म पुल निर्माणको काम १८ प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर टेकनाथ शर्माको भनाइ छ । (रासस)



प्रतिक्रिया दिनुहोस्