काठमाडौं, १७ जेठ । तपाईं के विदेशमा हुनुहुन्छ र स्वदेश आउन चाहनुहुन्छ ? यसो हो भने टिकट र क्वारेन्टाइनमा बस्ने दुई हप्ता अवधिको होटल खर्च ठिक्क पार्नुहोस् ।
सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई आउँदो हप्ताबाट ल्याउने भए अनुसार मोडालिटी तयार गर्ने भएको छ । जसमा आउन चाहनेले टिकट र होटल खर्च व्यक्ति स्वयंले बेहोर्नुपर्छ ।
कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको हो ।
करिब ६ लाख नेपाली स्वदेश फर्कने अनुमान उच्चस्तरीय समितिको छ । यसरी फर्कन चाहनेले टिकट खर्च र नेपाल आएपछि होटलमा बस्ने क्वारेन्टाइनमा खर्च उनीहरुले नै बेहोर्नुपर्ने गरी मोडालिटी तयार गरिएको छ ।
विदेशबाट ल्याइएका नागरिकलाई प्रदेशगत रूपमा छुट्याएर क्वारेन्टाइनमा राखी घर पठाउन सातै प्रदेशमा एक९एकजना संघीय सरकारका मन्त्रीलाई जिम्मा दिइएको छ । ती मन्त्रीले नै आफ्नो जिम्मेवारीभित्रका जिल्ला र स्थानीय तहसँग समन्वय गर्नेछन् ।
संघीय सरकारले प्रदेश १ मा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङलाई संयोजनको जिम्मेवारी दिएको छ । त्यस्तै प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, बागमतीमा महिला बालबालिकामन्त्री पार्वत गुरुङ, गण्डकीमा भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, प्रदेश ५ मा ऊर्जामन्त्री वर्षमान पुन, कर्णालीमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्टले संयोजन गर्नेछन् ।
बैठकले स्वदेश फर्कन चाहने नेपालीको सूची तयार पार्न परराष्ट्र मन्त्रालयलाई भनेको छ । यस सम्बन्धमा मुख्यसचिव नेतृत्वको कार्यदलले अन्तिम प्रस्ताव तयार पार्ने निर्णय भएको ती सदस्यले बताए । मोडालिटीसहित प्रस्तावलाई अन्तिम रुप दिई मन्त्रिपरिषदबाट निर्णय गरेपछि विदेशमा अलपत्र नेपालीहरु ल्याउन थालिनेछ ।