काठमाडौं, १८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले कोरोनाले पारेको प्रभाव न्यूनीकरण गर्नेतर्फ ध्यान नदिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सिंहले यस्तो टिप्पणी गरेका हुन् ।
सार्वजनिक खर्च पुनरावलोकन आयोगले दिएको सुझावलाई बजेटले कार्यान्वयन नगरेको, अनुत्पादक खर्च घटाउनेतर्फ ध्यान नदिएको र ठूला तथा राष्ट्रिय गौरवका आयोजना पूरा गर्नेतर्फ ठोस व्यवस्था नभएको उनको भनाइ छ ।
उनले राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति हेर्ने जिम्मा प्रधानमन्त्रीले नै लिए पनि परियोजनाको हालत दुरुहपूर्ण रहेको तथा मेलम्ची खानेपानी आयोजनाको पहिलो खण्ड नै पूरा नभएको अवस्थामा दोस्रो खण्ड शुरु गर्ने विषय आफैँमा मिल्दो नभएको बताए ।
उनले युवा तथा खेलकूद, अन्तरदेशीय प्रसारण लाइन तथा लप्सेफेदी–रातमाटे ४०० केभी प्रसारण लाइन निर्माणको विषयमा सत्तारुढ दलभित्रै सहमति नभएको अवस्थामा कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गरे । तस्विर : संघीय संसद सचिवालय