Logo

राष्ट्रिय मुद्दामा दलीय एकता जरुरी : सांसद



काठमाडौँ, १९ जेठ । प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदले राष्ट्रियताका पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शनिबार गरेको निर्णय सकारात्मक रहेको बताएका छन् ।

उनीहरुले राष्ट्रिय मुद्दामा दलीय एकता जरुरी रहेको र दलगत स्वार्थभन्दा माथि उठेर व्यवहार प्रदर्शन भएकामा सन्तोष व्यक्त गर्दै कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नसमेत आमसहमतिमा जोड दिएका छन् । शनिबार बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । बैठकले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको थियो ।

काँग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालका भूभाग भएको र तिनमा निर्बाधरुपले नेपालको हक स्थापित हुनुपर्ने अडान दोहोर्याएको छ । बैठकमा सांसद विनाकुमारी श्रेष्ठले राष्ट्रियताका पक्षमा उभिने काँग्रेसको निर्णय सकारात्मक छ भन्दै यस विषयमा संसद्मा रहेका दल एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । सांसद हरि अधिकारीले राष्ट्रिय विषयमा दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थका साथ एकै स्थानमा उभिने निर्णय आफैँमा महत्वपूर्ण रहेको बताएका छन् ।

सांसद विरोध खतिवडाले राष्ट्रियता एकता प्रदर्शन भएकामा प्रतिपक्षी दललाई धन्यवाद दिँदै कूटनीतिक पहलमार्फत सीमा विवाद समाधान गरिनुपर्ने बताएका छन् । उनले कालापानी–लिम्पियाधुरा–लिपुलेक क्षेत्रमा भारतले एकतर्फीरूपमा सडक निर्माण गरी उद्घाटनसमेत भएको र त्यहाँ सार्वजनिक यातायातसमेत सञ्चालन गर्ने तयारी गरिएको भन्ने जानकारी आएकाले त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot