Logo

बजेट कार्यान्वयन चुनौतीपूर्ण : महासङ्घ



काठमाडौँ, १९ जेठ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा आएका विभिन्न प्रावधानको स्वागत गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घले बजेटप्रति मिश्रित प्रतिक्रिया दिएको छ ।

महासङ्घले आइतबार एक विज्ञप्ति जारी गर्दै आफूले सरकारलाई दिएका केही सुझाव ठोस रूपमै र केही सुझावलाई कुनै न कुनै रूपमा सम्बोधनको प्रयास गरिएकाले बजेटको स्वागत भने गरेको छ । कृषि, घरेलु, साना तथा मझौला उद्योग, उत्पादनमूलक उद्योग, होटल, पर्यटनलगायतका क्षेत्रका उद्योग व्यवसायलाई ५ प्रतिशतसम्मको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैङ्कले एक खर्बसम्मको पुनर्कर्जा सुविधा उपलब्ध गराउने कुरा स्वागतयोग्य भनेको छ ।

कोरोनाको कारण उत्पन्न व्यावसायिक अवसरको उपयोग गर्न नवप्रवर्तनकारी कार्यमा लगानी प्रोत्साहन गर्न चाहने उद्यमी व्यवसायीलाई २ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने व्यवस्थाले स्टार्टअपहरूलाई प्रोत्साहित गर्ने देखिएको भन्दै महासङ्घले स्वागत गरेको छ । लघु, घरेलु तथा साना उद्योगी तथा व्यवसायीलाई उपलब्ध गराइने भनिएका आयकरका विभिन्न स्तरका छुट पनि सकारात्मक रहेको महासङ्घको भनाइ छ ।

स्वदेशी कपडा उद्योगलाई प्रोत्साहन गर्ने र राज्य कोषबाट खर्च गरिने सुरक्षाकर्मीलगायतका राष्ट्र सेवकको पोसाक, जुत्ता र अन्य उपभोग्य सामग्री स्वदेशमा उत्पादन गर्ने व्यवस्था मिलाइने कुराले स्वदेशी उद्योगलाई केही राहत मिल्नसक्ने तर यसको प्रभावकारी कार्यान्वयनमा भने चनाखो हुनुपर्ने महासङ्घले औँल्याएको छ । प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र विस्तार, कम्पनी दर्ता, नवीकरण वा खारेजी प्रक्रियालाई सूचना प्रविधिमा आधारित बनाई विकेन्द्रित गरिने, नेपालको क्रेडिट रेटिङ आगामी छ महिनाभित्र पूरा गरिने प्रतिबद्धतालाई महासङ्घले महत्वपूर्ण भनेको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्