विपिन देव: एकातर्फ कोरोनाले सम्पूर्ण मानव जातिको स्वतन्त्रता, शान्ति र समृद्धीलाई पूर्ण्विराम लगाएकोे छ भने अर्को तर्फ संवाद र सहकार्यको राजनीति पनि कमजोर भइरहेको छ । कोरोनाको कहरले राजनीतिज्ञ सैनिक, र सम्पूर्ण कर्मचारीतन्त्र बलियो भइरहेको छ भने साधारण जनता पीडित, प्रताडित र अवहेलित भइरहेका छन् । नेता आफ्नो शक्ति, सामथ्र्य, सत्ता र अहंकारलाई बलियो बनाउन तथाकथित राष्ट्रवादको नारालाई चर्को बनाउँदै गरेको छ । यहि पृष्ठभूमि कोरोनाको समस्यालाई साझा समस्या बनाएर लड्नुको सट्टा वर्षौंदेखि चाङ्ग परेको समस्याहरु उठाएर त्यसलाई पुञ्जीकृत गरेर मुलुकहरु आपसी भिडन्त र टकराव तर्फ उन्मुख भइरहेको अवस्था छ ।
चीन, भारत र पाकिस्तानको द्वन्द्व, संघर्ष, संग्राम पनि यहि पृष्ठभूमिमा व्याख्या गर्न सकिन्छ । डोकलाम विवादपछी चिनियाँ राष्ट्रपति सी जिन पिङ् र भारतका प्रधानमन्त्रीका बीच वुहानदेखि ममलापुरम सम्म वार्ता भएको छ । २ बिलियन अमेरिकी डलरबाट शुरु भएको व्यापार १०० बिलियन अमेरिकी डलरमा पुगिरहेको अनुकुल अवस्थामा फेरी चीन र भारत बीच विवाद चुलिरहेको अवस्था छ । सिक्किम र लद्दाखको बोर्डरमा दुई देशका सैनिकहरु सम्पूर्ण अस्त्रशस्त्रबाट सज्जित भएता पनि एक अर्काका विरुद्ध ढुङ्गा मात्र प्रहार गरिरहेको अवस्था छ । एक जना विश्लेषकले यस्तो मुठभेडलाई बडो रोचक ढङ्गले व्याख्या गर्दै के भनेका छन् कि दुईवटै न्युक्लियर सैन्य क्षमताबाट सम्पन्न मुलुकहरु यसरी एक अर्काका विरुद्ध ढुङ्गा प्रहारले दुईवटै मुलुकहरुको संयमता झल्किन्छ ।
चीन र भारतका द्वन्द्व र संग्रामका पछाडी विभिन्न कारणहरु छन् । यस मध्ये मुर्धन्य कारण के हो भने विगतका केहि वर्षहरुमा भारतले चिनियाँ बोर्डरसँग जोडिएका सीमावर्ती इलाकाहरुमा प्रखर रुपले पूर्वाधार विकास गरिरहेको छ जुन कि चीनलाई पाच्य छैन । चीनले भारतलाई दबाबमा राख्नुको कारण विभिन्न किसिमका सामरिक आयामहरू छन् । कोरोनाको कहरले गर्दा विश्वका प्रजातान्त्रिक मुलुकहरुको घेराबन्दीमा भारतको भूमिका महत्वपूर्ण देखिएको छ । चीनले भारतलाई इण्डोप्यासिफिक क्षेत्रमा गतिविधिलाई निस्तेज गराउन आवश्यक दबाब दिइरहेको छ । चीनले हंगकंगमा भइरहेको चिनियाँ विरोधी गतिविधिमा प्रजातान्त्रिक मुलुकहरुको गठबन्धनलाई तोड्न भारतलाई आवश्यक दबाब दिनको लागि बोर्डर समस्यालाई गम्भीर बनाएर भारतलाई आन्तरिक गतिविधिमा मात्र सीमित गर्न खोजिरहेको छ । अर्को तर्फ हंगकंगको पक्षमा प्रजातान्त्रिक मुलुकहरु हरेक किसिमको सहयोग र सद्भाव देखाईरहेको छ ।
अमेरिका र अस्ट्रेलियाले चिनियाँ सरकारलाई धम्की दिँदै आउने दिनमा हंगकंगबाट सम्पूर्ण लगानी झिक्ने संकेत समेत दिएको छ । चीन र ताइवान बीचको द्वन्दलाई पनि मलजल गर्ने काम पश्चिमा शक्तिहरुले गरिरहेको छ । चीनले एकै चोटी हंगकंग, ताइवान र भारतसँग द्वन्द गरिरहेको देखिन्छ । भारतलाई चीनले दबाबमा राख्नुको अर्को कारण विश्व स्वास्थ्य संगठन पनि हो । भर्खरै विश्व स्वास्थ्य संगठनको अध्यक्षता र नेतृत्व भारतको पोल्टोमा परेको छ । आउने दिनमा विश्वका स्वास्थ्य सम्बन्धी नीतिको तर्जुमा र अनुगमन भारतले गर्ने भएको छ । संसारका अधिकांश मुलुकहरुले सत्यतथ्यलाई रहस्योदघाटनको लागि कोरोनाको उद्गम स्थल वुहानमा व्यापक जाँच गराउन भारतलाई दबाब दिइरहेको अवस्थामा चीनले भारतको गतिविधिलाई नियन्त्रण गर्न बोर्डर र सीमा सम्बन्धी दबाब दिइरहेको छ ।
चीन र भारत बीच सन् १९६२ मा बोर्डर समस्याले युद्ध समेत भएको थियो भने सन् १९६७ मा नाथुला बोर्डरमा भिडन्त र गोलाबारी समेत भएको थियो । सन् १९६७ पछी एक किसिमले कुटनीतिक सम्बन्ध पूर्ण रुपमा चिसिएको थियो । सत्तरीको दशकमा भारतमा जे.पी. आन्दोलनको राप र तापले जनता सरकारको गठन भएको थियो र जनता सरकारका परराष्ट्र मन्त्रीका रुपमा अटलविहारी बाजपेयी थिए । बाजपेयीले चीन र भारतको मैत्री र दौत्य सम्बन्धलाई पुनर्निर्मित गरे । बाजपेयी पछी अस्सीको दशकमा भारतका युवा प्रधानमन्त्री राजीव गान्धीले भारत र चीनको सम्बन्धलाई व्यापार सँग जोड्दै लगानी मैत्री वातावरण बनाए । खास अर्थमा भन्ने हो भने भारत खुला अर्थतन्त्र र उदारीकरणको युगमा सन् १९९० पछी प्रवेश गरेर चीनको पद्चापमा हिँड्दै चीनसँग व्यापारिक सम्बन्धलाई धनिधुत बनाए जसको श्रेय नरसिंहा रावलाई नै जान्छ । चीनले सत्तरीको दशकमा भियतनाम सँग युद्ध गरेपछि कुनै पनि मुलुकसँग सिधै भिडन्त गरेको छैन तर भारतले सन् १९६५ मा पाकिस्तानसँग युद्ध शुरु गर्दै सत्तरीको दशक हुँदै हाल सम्म गरेर पाकिस्तानसँग चार पटक युद्ध गरिसकेको छ । तर भारत र पाकिस्तानको भिडन्तमा चीनको भूमिकालाई नकार्न सकिदैन ।
भारतका सुरक्षा सम्बन्धी रणनीतिकार के. सुव्रमण्यमले एक व्याख्यानमा प्रष्ट भनेका छन् कि भारतलाई दबाबमा राख्न चीनले पाकिस्तानलाई उपकरणको रुपमा प्रयोग गरेका छन् । एकातर्फ चिनियाँ रणनीति अनुसार आफ्नो प्रविधी र हतियारलाई पनि पाकिस्तानमा बेच्न चीन सफल भएको छ भने अर्को तर्फ भारतले पनि चीनसँग सिधै प्रतिस्पर्धा गर्नुको सट्टा आफ्नो उर्जा र सामर्थ्य पाकिस्तानसँगको द्वन्दमा व्यतित गर्नु परेको छ । यसरी पाकिस्तानलाई सहयोग गरेर चीनले दक्षिण एसियामा मात्रै होइन कि इस्लामिक संसारमा पनि भारतको पहुँच र सामर्थ्यलाई कमजोर पार्ने रणनीति रहेको छ । तर वर्तमान अवस्थामा चिनियाँ रणनीति असफल रहेको देखिन्छ ।
भर्खरै यू.एन.ओ. मा विश्व इस्लामिक संगठनको सम्मेलनले यस तथ्यलाई पुष्टि गरेको छ । इस्लामिक संगठनको सम्मेलनमा पाकिस्तानले भारत विरुद्ध प्रस्ताव राख्दा माल्दिभ्स, साउदी अरेबिया, यू.ए.ई. र ओमान जस्ता मुलुकहरुले पाकिस्तानको खुला विरोध गरे । यहाँसम्म कि मलेसियाले पनि पाकिस्तानको कश्मिर सम्बन्धी प्रस्तावलाई समर्थन गरेन । इस्लामिक संगठनमा भारतको सहभागिता छैन । सन् २०१९ मा भारतका तत्कालीन परराष्ट्रमन्त्री सुश्मा स्वराजले परिवेक्षकको रुपमा मात्र सहभागी भएका थिइन । अर्को शब्दमा भन्ने हो भने चीनले पाकिस्तानको माध्यमबाट मध्य पुर्वका देशहरुको माध्यमबाट भारतलाई दबाब दिनमा असफल रहेको देखिन्छ । अर्को तर्फ इन्डोनेसिया पछी संसारमा सबभन्दा बढी मुसलमानहरुको जनसंख्या भारत भएको कारणले गर्दा भारत इस्लामिक जगतमा पनि आफुलाई कमजोर रुपमा उपस्थित गराउँदैन ।
भारत र चीनको भिडन्तको कारण सिल्क रोड र इण्डोप्यासिफिक नीति हो । चीनले संसारको सबभन्दा महत्वाकांक्षी परियोजना रेशम मार्गबाट संसार भरी आफ्नो व्यापार बढाउन अगाडी बढिरहेको छ भने भारतको नेतृत्वमा र पश्चिमा शक्तिहरुको सहयोगमा इण्डोप्यासिफिकको छत्रछायामा चीनको एकाधिकारलाई चुनौती दिन आवश्यक कार्य भइरहेको छ । यसै सन्दर्भमा क्वार्डको स्थापना भएको देखिन्छ । अर्थात् प्रजातान्त्रिक मुलुकहरुको सक्रिय सहभागितामा अमेरिका, जापान, अस्ट्रेलिया र भारतले क्वार्डको छातामुनी साउथ चाइना सी मा चीनको दब(दबालाई चुनौती दिइरहेको छ ।
चीन र भारतको द्वन्द्वमा पश्चिमा शक्तिहरुले व्यापक रुपमा खेलेको देखिन्छ । तर, डोकलाम विवादको समाधानले सी जिन पिङ् र मोदीको नेतृत्वले पश्चिमा खेललाई असफल पारेको इतिहास छ । चीन र भारतले संसारको सबभन्दा ठुलो बोर्डर समस्यालाई झेल्नुपरेको छ जुन कि साम्राज्यवाद वा ब्रिटिश शासनको अपुताली हो । चीन र भारत सहकार्य र सद्भावलाई ग्रहण गरेको खण्डमा आउने दिनमा विश्वको नेतृत्व एसियाले नै लिने छ । यस अर्थमा चीन र भारतले आफ्नो व्यापारिक सम्बन्धलाई धनिधुत रुपमा अगाडी बढाएर बोर्डर समस्यालाई तत्काल थाती राखेर भविष्यमा समाधानको लागि आवश्यक वातावरण बनाउँदै जानुपर्दछ ।चीन र भारतको सम्बन्ध सहजीकरण हुने बित्तिकै पाकिस्तान झन् विश्व रङ्गमञ्चमा एकलिन्छ । आतंकवाद, कट्टरपन्थी, सैन्य शासन र पछौटेपनले गर्दा पाकिस्तानी शासन असफल भइरहेको छ । यस प्रतिकुल अवस्थामा पाकिस्तानले पनि मित्रता र भाइचाराको सिद्धान्त अनुरुप विकासको मार्गमा लम्किनुपर्दछ ।
चीन, भारत र पाकिस्तानको सम्बन्ध लिकमा आउन बित्तिकै संसारले अमन र शान्तिको सास फेर्ने छ । अमेरिका आफ्नो लगानी र व्यापारलाई सबभन्दा बढी महत्व दिन्छ । चीनमा लगानी अमेरिका मात्रै १ ट्रीलियन डलर रहेको छ । चीन कमजोर हुने बित्तिकै अमेरिकी अर्थतन्त्र प्रभावित हुने छ । भू–मण्डलीकरणको सुत्र अनुसार एक देशको समृद्धीले अर्को देशलाई समृद्ध बनाउँदछ भने गरिबीले अरुलाई गरिब बनाउँदछ । भारत, चीन र पाकिस्तानले साझा संकल्पका साथ कोरोनासँग लड्दै आन्तरिक द्वन्द्व र संग्रामलाई अन्त्य गर्नुपर्दछ ।