काठमाडौं, जेठ २० । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट खुला र दूरशिक्षाका माध्यमबाट पठनपाठन गराउने बाटो खोलेको छ । विद्यालय खुल्ने अनिश्चित भएपछि मन्त्रालयले अनलाइन, रेडियो, टेलिभिजन, प्रिन्ट सामग्रीलगायत वैकल्पिक शिक्षण विधिबाट कक्षा सञ्चालन गर्न सकिने प्रबन्ध गरेको हो ।
यसअघि वैकल्पिक विधिबाट पनि कक्षा सञ्चालन गर्न रोक लगाएको असार १ गतेबाट वैकल्पिक विधिहरुबाट विद्यार्थीको सिकाइलाई सहजीकरण गर्न निर्देशिका स्वीकृत गरेको छ । ‘विद्यालय कहिलेबाट खोल्न सकिन्छ निश्चित छैन, शैक्षिक संस्था खोल्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको छ,’ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने, ‘पढाइ अवरुद्ध हुँदा भएको शैक्षिक क्षति न्यूनीकरण गर्न दूर र खुला शिक्षाका माध्यमबाट बालबालिकाको सिकाइलाई सहजीकरण गर्न लागिएको हो ।’ कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिस र मन्त्रिपरिषद्को निर्णयपछि मात्रै शिक्षण संस्थाहरु कहिले खुल्ने भन्ने निर्णय हुने उनले प्रस्ट पारेको आजको कान्तिपुर दैनिकमा खवर छ ।