Logo

शहीद उद्यान निर्माण शुरु



काठमाडौँ, २० जेठ । तनहुँको भानु नगरपालिका–२ फुस्रेटारस्थित सामुदायिक वनमा शहीद उद्यान निर्माण शुरु गरिएको छ । मझुवा ओख्ले सामुदायिक वनमा शहीद उद्यान निर्माणका लागि जग तयार गर्ने गरी काम शुरु गरिएको हो ।

उद्यान निर्माणका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेपछि काम शुरु गरिएको उद्यान निर्माण समितिका अध्यक्ष बाबुराम विकले जानकारी दिएका छन् । नगरपालिकाकै रु १० लाख लागतमा गत आर्थिक वर्षमा उद्यानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो ।

विकका अनुसार मझुवा ओख्ले सामुदायिक वनको १५३ रोपनी जग्गामा राणाविरुद्धको आन्दोलन, पञ्चायतविरुद्धको आन्दोलन, जनयुद्ध तथा विभिन्न आन्दोलनका शहीदको स्मृतिमा उद्यान निर्माण गरिनेछ । डिपिआरअनुसार उद्यान निर्माणका लागि रु १२ करोड लागत अनुमान गरिएको छ ।

उद्यानमा शहीदका स्मारकबाहेक, दृश्यावलोकन स्तम्भ, बालउद्यान, मनोरञ्जन उद्यान, ४०० जना अट्ने सभाहल, पैदलमार्ग, साहित्यिक स्रष्टाहरुको स्मारक, फूलको बगैँचा, रेष्टुरेन्ट, सवारी पार्किङस्थललगायतका संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ । उद्यान निर्माणका लागि सर्वदलीय सहमति र सहभागितामा निर्माण समिति गठन गरिएको छ । (रासस )



प्रतिक्रिया दिनुहोस्