Logo

रिडीमा तीनमुखे पुल बन्दै



काठमाडौँ, २० जेठ । बन्दाबन्दी अवधिमा रिडीमा दृश्यावलोकन स्तम्भसहितको तीनमुखे पुल निर्माण धमाधम भइरहेको छ ।

ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्यका रुपमा परिचित रुरुको रिडीमा भ्युटावरसहित झोलुङ्गे पुल निर्माण जारी रहेको छ । करीब छ वर्षअघि शिलान्यास गरिएको पुल अलपत्र अवस्थामा थियो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अलपत्र पुल निर्माणलाई अघि बढाउन निर्देशन दिएपछि बन्दाबन्दीमा निर्माण रोकिएको छैन ।

पुल निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनीका करणजीत बर्माले झण्डै ८० प्रतिशत काम सम्पन्न भइसकेको बताएका छन् ।
पुलको स्याङ्जातर्फको टावर ब्लक निर्माण सम्पन्न भइसकेको छ । अब मुख्य पिलरको पाँचाँै तलामा काम भइरहेको छ । पिलर सात तला बनेपछि भ्युटावरको निर्माण काम पूरा हुने बर्माले बताएका छन् । पाल्पा र गुल्मीतर्फको पिलरको काम यस महिनामा सम्पन्न हुनेछ ।
कोभिड –१९ को महामारीमा पनि कामदारले कामलाई निरन्तरता दिएका हुन् । कामदारमा अहिले कोभिड –१९ का कारण मनोबल कमजोर भइरहेकाले काम अघि बढाउन आगामी महिना समस्या हुने बर्माको धारणा छ । गुल्मी जिल्लामा कोभिड –१९ को प्रभाव बढ्दो मात्रामा देखिएको छ । यसै आवमा काम सम्पन्न हुने भए पनि बन्दाबन्दीले सामग्री ल्याउन समस्या हुँदै आएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्