Logo

विद्यार्थी वर्गीकरण लगत्तै असारदेखि भर्ना



काठमाडौं, जेठ २० । सरकारले असार पहिलो सातादेखि विद्यार्थी वर्गीकरण गरी सोहीअनुसार १० जनासम्मको समूहमा पढ्न मिल्ने गरी विद्यालय खुला गर्ने तयारी गरेको छ । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको सिकाइ सहजीकरण निर्देशिकालाई आधार मानेर कक्षा सञ्चालन गर्ने गरी तयारी गरेको छ । मन्त्रालयले प्रदेश र स्थानीय सरकारलाई निर्देशन दिइसकेको छ । निर्देशिकामा विद्यार्थीलाई पाँच किसिममा वर्गीकरण गरिएको छ ।

कुनै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका, रेडियो, एफएम रेडियो र मोबाइल रेडियोमा पहुँच भएका, टेलिभिजनमा पहुँच भएका, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी रहेको समूहमा वर्गीकरण गरी सोहीअनुसार पठनपाठन गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले करिब दुई÷डेढ साताअघि देशवासीको नाममा सम्बोधन गर्ने क्रममा विद्यार्थीको शैक्षिक सत्रलाई असर नपर्ने गरी पठन पाठन शुरू हुने जनाउनुभएको थियो । सोही भनाइलाई आधार मान्दै अनलाइनबाट कक्षा सञ्चालन गर्न गठित समितिले प्रतिवेदन तयार गरी शिक्षामन्त्री गिरिराजमणि पोखरेलाई हस्तान्तरण गरेको थियो । सो समितिले दिएको प्रतिवेदनको आधारमा निर्देशिका तयार गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्