काठमाडौं, २० जेठ । चर्चित नायिका रेखा थापाले विदेशबाट नेपालीहरु ल्याउने घोषणा गरेको राज्यसँग उनीहरु फर्किएपछि कसरी व्यवस्थापन गर्छ ? भन्दै प्रश्न उठाएकी छिन् । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भनिन्,’उनीहरुलाई ल्याउने अरे, ल्याएपछि कहाँ एस्ट्याबलिश गर्ने ? के योजना छ ? नेपाली जनताले परिआउँदा हरेक समय राज्यलाई सहयोग गरेका छन् । यो कुरा चाहीँ फेरि कसैले बिर्सिनुहुँदैन नि । यो लकडाउनको अवधिमा पनि सबैले सरकारलाई सहयोग गरेकै छैन् । कसैले पनि असहयोग गरेका छैनन् । तर, राज्य व्यवहारिक हुनुपर्यो ।’
नायिका थापाले कोरोनाको कहरका कारण देशको अर्थतन्त्र चौपट भएको बताउँदै लकडाउनमात्रै सोलुशन नभएको जिकिर गरिन् । उनले भनिन्,’मिडल क्लास फ्यामिलीलाई पनि अहिले टेन्सन भैसक्यो । उसले राज्यसँग माग्नपनि सक्दैन्, राज्यको खानपनि सक्दैन् । त्योभन्दापनि महत्वपूर्ण कुरा त मान्छेहरु मानसिक रुपमापनि विरामी भैसके क्या । सरकारले कोरोनाका कारण के साईड ईफेक्ट परेको छ भनेर बुझ्नुपर्दैन ?’