Logo

स्वास्थ्य पूर्वाधारमा खेलाँची



सुर्खेत, जेठ २१ । भारतबाट फर्किनेको संख्या बढेसँगै कर्णालीमा दिनहुँ कोरोना संक्रमित थपिन थालेका छन्। भारतबाट आउनेको व्यवस्थापन र स्वास्थ्य पूर्वाधार निर्माणमा भने सरकार जिम्मेवार भएको छैन।

आवश्यक स्वास्थ्य पूर्वाधार व्यवस्थापनमा खेलाँची गरिएका कारण संक्रमितको उपचारमा समस्या हुन थालेको हो। कालिकोटमा शनिबार एकैपटक १८ जनामा कोरोना पुष्टि भयो। जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका उनीहरूलाई उपचारका लागि आइतबार सदरमुकाम मान्म ल्याइयो।

तर जिल्ला अस्पतालमा जम्मा चार शैय्याको आइसोलेसन छ। अस्पतालमा संक्रमितलाई राख्न सम्भव नभएपछि निर्माणाधीन एकीकृत भवनमा राख्नु परेको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले जानकारी दिए।

कालिकोटमा संक्रमित देखिन थाले पनि हालसम्म त्यहाँ एउटा पनि आईसीयू र भेन्टिलेटर छैनन्। संक्रमितको संख्या बढ्ने सम्भावना रहेको र जिल्लामा स्वास्थ्य पूर्वाधार नहुँदा अब उपचारका लागि जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने योजना रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताए। उनका अनुसार जिल्लामा हाल जम्मा १५ शैय्या मात्र आइसोलेसन छ। सल्यानमा पनि समस्या उस्तै छ। जिल्लाभर आइसोलेसन शैय्याको संख्या २४ छ। तर, त्यहाँ सोमबार दिउँसोसम्म ४४ जनामा संक्रमण पुष्टि भएको आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्