Logo

चित्रबहादुरको दलले ‘संघीयता खारेजी’ को संविधान संशोधन प्रस्ताव दर्ता गर्दै



काठमाडौं, २१ जेठ । संघीयताको विरोधमा शुरु देखि नै देखिएका पाका कम्युनिस्ट नेता चित्रबहादुर केसीको दलले यसको खारेजीका लागि संविधान संशोधन प्रस्ताव दर्ता गर्ने भएको छ । आज संसदमा केसीको दल राष्ट्रिय जनमोर्चाले संघीयता खारेज गर्ने प्रस्ताव दर्ता गर्न लागेको हो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानमा संघीयताको व्यवस्था हटाउन संसदमा प्रस्ताव दर्ता गर्न लागेको बताए । आफूहरुले विगतमा संघीयता देशका लागि घातक हुने भन्दै आएको र अहिले पुष्टि भएको जिकिर गर्दै उनले भने, हामीले विगत देखि उठाउँदै आएको संघीयता देशका लागि ठिक छेन भनेको पुष्टि भइसकेको छ, त्यसैले संविधानबाटै यसलाई हटाउनुपर्छ भनेर संसदमा प्रस्ताव दर्ता गर्न लागेका हौं ।

देशमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा प्रदेशहरुको भुमिका कमजोर देखिएको भन्दै आलोचनाहरु भइरहेका छन् । केन्द्र र स्थानीय तहले जोखिमसँग लड्न सबै किसिमका भुमिका निभाउँदै आएका छन् ।

राष्ट्रिय जनमोर्चाले संघीयता विरोधी आवाज बढ्दै गएको अवसर पारेर संविधान संशोधन प्रस्ताव दर्ता गर्न लागेको होइन भन्ने कतिपयको बुझाई छ । भारतसँगको सिमा विवादपछि नेपालको नयाँ नक्शा परिवर्तनको संविधान संशोधन प्रस्तावपछि मधेश केन्द्रित नेताहरुले मधेशी, जनजाति, थारु लगायतको अधिकार सुनिश्चित गर्न संविधान संशोधनको विषय उठाइरहँदा चित्रबहादुर केसीको दलले नयाँ प्रस्ताव अगाडि सार्न लागेको हो । यसलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्