Logo

लकडाउनमा तरकारी ढुवानी रोक्ने र नष्ट गर्नेलाई कारबाही हुने



काठमाडौं, २१ जेठ । तरकारी नष्ट गर्नेलाई अबदेखि कारबाही हुने भएकाे छ। मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि उपज नष्ट गर्नेमाथि कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ । कृषि मन्त्रालयले कृषि उपजको उत्पादन,ढुवानी र बजारमा अवरोध गर्नेमाथि कारबाहीको माग गर्दै पत्र पठाएकाे हाे ।

यसअघि पटक–पटक आग्रह गरिए पनि कृषि उपजको उत्पादन,ढुवानीमा अवरोध भएको भन्दै कृषि मन्त्रालयले गृह मन्त्रालयलाई पत्र पठाएकाे हाे। “कृषि उपज नष्ट गर्ने अवान्छित क्रियाकलापले कृषकहरुको उपज खेर जाने मात्र नभई मनोबल खस्कने, उत्पादन घट्ने र खाद्य वस्तुको आपुर्ति शृङ्खला अवरुद्ध हुन गई खाद्य संकटको अवस्था हुन सक्नेछ”, पत्रमा लेखिएकाे छ ।

यसैगरी “बन्दाबन्दीको कारणले कृषिजन्य वस्तुहरुको उत्पादन एवं ढुवानीको कार्य सुचारु हुन नसकेको तथा कतिपय स्थानीय तहहरुले देशभित्रकै अन्य स्थानबाट ढुवानी भएका कृषि तथा पशुजन्य उत्पादन आफ्नो क्षेत्रमा प्रवेश गर्न नदिने र ढुवानी भएका सामग्रीहरु जफत गरी नष्ट गरिदिने जस्ता कार्यहरु गरेको देखिन्छ ”पत्रमा उल्लेख छ । मन्त्रालयले कृषि उपज नष्ट गर्ने कार्यमा संलग्नलाई कारबाही गर्दै सहज रुपमा ढुवानी र बिक्री वितरणको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिन समेत अनुराेध गरेको छ ।

कपिलवस्तुबाट अर्घाखाँची ढुवानी भएको तरकारीबाट कोरोना सर्ने भन्दै तरकारी नष्ट गरिएको भिडियाे हाल सामाजिक सञ्जालमा भाइरल बनेकाे छ । उक्त कार्यकाे चर्काे बिरोध पनि भइरहेको छ । अर्घाखाँची,पोखरा महानगरपालिका,कर्णाली प्रदेशले पनि अन्यत्रबाट आएको तरकारी माथि रोक लगाएको थियाे ।-मेरो लगानीबाट



प्रतिक्रिया दिनुहोस्