Logo

केरामा हावाहुरीको कहर : चैतयता दस करोडभन्दा बढीको नोक्सानी



काठमाडौँ, २२ जेठ । कोरोनाको कहरकै बीच हावाहुरी र असिना पानीका कारण उत्पादन गरिएको केरा सखाप भएपछि चितवनका किसान चिन्तित छन् ।

बन्दाबन्दीका कारण बजारको सहज पहुँच नभइरहेका बेला प्राकृतिक विपत्तिको मारमा समेत किसान परेका हुन् । पूर्वी चितवन रत्ननगरमा व्यावसायिक केरा खेती गर्दै आएका किसान विष्णुहरि पन्त हावाहुरी र असिना पानीले केरा खेतीमा ठूलो क्षति पुगेको बताएका छन् । पछिल्लोपटक चितवनमा जेठ दोस्रो साता आएको हावाहुरीले क्षति बढी गरेको बताइन्छ । “चैतयता लगातार हावाहुरी, असिना पानी आइरहेको छ यसको प्रत्यक्ष असर केरा खेतीमा परेको छ,” उनले भने ।

शिखर इन्स्योरेन्स प्रालि नारायणगढ शाखाका प्रमुख चन्द्रमणि शर्मा चैतदेखि अहिलेसम्म हावाहुरी र असिना पानीले केरामा १० करोड रुपियाँभन्दा बढीको क्षति भएको भन्दै दाबी परेको बताएका छन् । “झन्डै पाँच सय किसानले अहिले १० करोड रुपियाँभन्दा बढी मूल्य बराबरको केरा नोक्सान भयो भनेर दाबी गर्नुभएको छ,” उनले भने । किसान तहमा सय कोसा भएको एक घरी केराको औसत पाँच सय रुपियाँ मूल्य पर्छ । यसलाई आधार बनाउने हो भने बीमामा दाबी भएको १० करोड रुपियाँ बराबरको केरा भनेको दुई हजार घरी अर्थात् दुई हजार बोट हो । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्