काठमाडौं, २२ जेठ । जनस्वास्थ्य विज्ञ डा. समिरमणि दीक्षित हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिन पुगेको विज्ञ टोलीमा थिए । उनले लकडाउन खुकुलो बनाउन र मोडालिटी परिवर्तन गर्न मतहरु धेरै देखिएको खुलाए । डा. दिक्षितसँग यीनै सेरोफेरोमा रेडियो एनआरएनका लागि ऋषि धमलाले गरेको कुराकानीः
हिजो प्रधानमन्त्रीसँगको अन्तक्रियामा तपाईंहरुको के के भयो ?
हिजो हाम्रो प्रधानमन्त्रीसँग पाँच घण्टा लामो मिटिङ भयो ।
प्रधानमन्त्रीसँग तपाईंहरुको पाँच घण्टासम्म मिटिङ भयो ?
त्यो मिटिङमा म मात्रै होइन । त्यहाँ २५, ३० जना अन्य विज्ञहरु पनि हुनुहुन्थ्यो । त्यो मिटिङ विशेषगरी स्वास्थ्यमा केन्द्रित थियो । थोरै अर्थतन्त्रसँग पनि केन्द्रित थियो । खासगरी प्रधानमन्त्रीले हामीहरुलाई कोरोनाको विषयलाई के गर्ने, विदेशबाट ल्याउनुपर्ने मानिसहरुलाई कसरी ल्याउने, तिनको व्यवस्थापन कसरी गर्ने भनेर राय बुझ्नलाई हामीलाई निम्त्याउनुभएको थियो ।
प्रधानमन्त्रीले तपाईंहरुलाई के भन्नुभयो त ?
हिजोको मिटिङमा प्रधानमन्त्रीले भन्ने भन्दा पनि उहाँले सुन्ने गरी विभिन्न व्यक्तिलाई बोलाएको बुझियो । हामी २५ जनाले लगातार पाँच घण्टासम्म दिएको सुझाव सुनिरहनुभयो ।
सुनिरहँदा पनि प्रधानमन्त्रीले बीच–बीचमा केही त बोल्नुभयो होला नि ?
त्यहाँ धेरै जनाले लामो सुझावहरु दिएकाले के लिने के नलिने भनेर अलमलिनुभयो रे । पहिला चाहीं तपाईंहरु सबैजनाले सुझाव दिनुहोस् अनि म के के लिने के के नलिने भनेर छुट्याउँछु भन्नुभएको थियो । अनि सबैको सुझावहरु सुन्नुभयो । तर, त्यसको केही जवाफ दिनुभएन । उहाँले अब पपाईंहरु सबैको सुझाब सुनेँ अब यसलाई लिएर हामीहरु बस्छौं अनि के गर्ने भनेर अगाडि बढ्छौं भन्नुभयो ।
तपाईंहरुको सुझाव चाहीं के के थियो त ?
विभिन्न मान्छेहरुको विभिन्न प्रकारका सुझावहरु छन् । मुख्य कुरा लकडाउनलाई खुकुलो पार्ने । त्यसमा सबैको एउटै मत आयो । त्यसको लागि अहिलेको मोडालिटीलाई परिवर्तन गर्नुपर्छ भन्ने रह्यो । अर्को विदेशबाट फर्किने नेपालीहरुको लागि के गर्ने भन्ने कुरा रह्यो । उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा चाहीं प्रधानमन्त्रीलाई एकदमै गाह्रो भएको जस्तो लाग्यो । अर्को समस्या भनेको क्वारेन्टाइनको त्यहाँ मान्छेहरुको मृत्यु हुन थालेको छ । अहिले नेपालमा कोभिड त निहु मात्रै भएको छ । नेपाल कोभिडभन्दा अरु कारणले मृत्यु भइराखेको छ । त्यसकारण प्रधानमन्त्रीले हामीहरुसँग सुझाव माग्नुभएको थियो । हामीहरुले तीनदेखि चार एरियामा बसेर सुझाव दियौं ।
सुझाव चाहीं ठ्याक्कै के थिए त ?
त्यहाँ विभिन्न विषयका विज्ञहरु हुनुहुन्थ्यो । सुझाव पनि विभिन्न व्यक्तिहरुको छुट्टाछुट्टै । स्वर्णिम वाग्लेजीको छुट्टै थियो । मेरो छुट्टै थियो । फेरि यसलाई अन्र्तक्रिया भन्न मिल्दैन । त्यसमा हामीले बोल्ने प्रधानमन्त्रीज्यूले सुन्ने मात्रै थियो । त्यस्तो अन्तत्र्रिmयात्मक होइन । अन्तिममा उहाँले पूर्वीय दर्शनहरुको कुरा गर्नुभयो । हाम्रो पहिलादेखि चलनचल्तिमा आएका जडीबूटीहरुको बारेमा पनि कुराकानी भए ।
प्रधानमन्त्रीलाई सुझाव दिँदा तपाईंहरुले के भन्नुभयो ठ्याक्कै भन्नुस् न ?
सबैले भनेको कुरा गर्ने हो भने हिजोको जस्तै पाँच घण्टा लाग्छ । लकडाउनलाई खुकुलो पार्ने भन्नेमा सबैको एउटै धारणा थियो । त्यसमा व्यापार, व्यवसाय, खुद्रा पसलदेखि लिएर वित्तिय क्षेत्रहरु सामाजिक दुरी कायम गरेर सञ्चालन गर्नुपर्ने भनियो । परीक्षण गर्नुपर्दा आरडिटीभन्दा पनि पीसीआर नै ल्याएर चेकजाँच गर्ने । कसैले स्कुल, कलेजहरु पनि धेरै दिन बन्द गर्नुहुँदैन भन्नुभयो । परीक्षण गर्न सरकारले पनि नसक्ने र निजीलाई पनि नदिने हुँदा संक्रमितहरुको संख्या बढ्छ । त्यसकारण निजी अस्पताललाई पनि परीक्षण गर्न दिनुपर्छ भन्ने सुझाव मैले राखेको थिएँ । अर्को महत्वपूर्ण कुरा क्वारेन्टाइनको कुनै काम छैन । त्यसको लागि संक्रमितलाई घरमै बस्ने व्यवस्था मिलाउनुपर्छ भन्ने पनि सुझाव आएको छ ।
क्वारेन्टाइनमा नराखेर कहाँ राख्ने त ?
क्वारेन्टाइनमा राखिएका मान्छेहरुको बिना कारण ४, ५ जनाको मृत्यु भइसकेको खबर तपाईंहरुकै सञ्चारमाध्यममा समाचार आइसकेको छ । किन भने त्यहाँ खाना पनि नदिने । खानेपानी समेतको राम्रो व्यवस्था नहुने । दीर्घ रोगीहरुलाई उनीहरुले खाइराखेको औषधि पनि नदिने । बस्ने, सुत्ने, ओड्ने, ओछ्याउनेको पनि व्यवस्था नभएको । सौचालयको पनि राम्रो व्यवस्था नभएको । सरसफाइको कुनै ख्याल नगरिएको । कतिपय मुटु रोगी, मृगौला रोगीलाई औषधि पनि नदिने । कतिपय सुगर, प्रेसरका विरामीहरु हुन्छन् उनीहरुलाई त्यसको औषधिको व्यवस्था नहुने जस्ता समस्याले मान्छेको बिना काममा मृत्यु भएको छ । अहिलेसम्म आइसुलेसन र क्वारेन्टाइनमा मृत्यु हुनेहरु कोभिड निहुँ मात्रै हो । उनीहरु राम्रो खानपान, हेरविचार, स्याहार सुसार नभएर मरेका हुन् । त्यसैले कुनै लक्षण नदिएका स्वास्थ्य समस्या पनि नभएकाहरुलाई उहाँहरुको आफ्नै घरमा राख्दा बरु राम्रो खानपान, स्याहारसुर हुन्छ र छिट्टै निको हुन्छन् । त्यसैले यस्तो क्वालिटीहीन क्वारेन्टाइनमा राख्नुभन्दा घरमै राख्न र बस्न वेश हुन्छ भनिएको हो । यसमा मेरो पनि सुझाव रह्यो । कतिपयको हैन घरमा लाँदा अरुलाई जोखिम हुन्छ भन्ने पनि आयो । त्यसो भए क्वारेन्टाइनलाई अलिराम्रोसँग व्यवस्थापन गर्नुपर्छ भन्ने सुझाव पनि आयो । क्वारेन्टाइन भनेको कष्टडी जस्तो होइन यो राम्रो काम हो भनेर देखाउने खालको बनाउनुप¥यो भनेर कपितयले सुझाव दिनुभयो । यसबारेमा मन्त्रिमण्डले के निर्णय गर्छ त्यो हेर्न बाँकी नै छ ।
त्यसोभए अब हाम्रो देशमा लकडाउन लम्ब्याउनु पर्दैन भन्ने तपाईंहरुको निष्कर्ष हो ?
लकडाउन केही विषयमा लम्ब्याउनुपर्छ । तर, धेरै कुरामा लम्ब्याउनु पर्दैन भन्ने हाम्रो निष्कर्ष हो । जस्तो सार्वजनिक यातायातका साझन, सिनेमा हल, पार्टी प्यालेस, स्कुल, कलेज जस्तो ठाउँहरु खोल्न मिलेन । तर अन्य उत्पादनका क्षेत्र जस्तो कृषिलाई विशेष जोड दिइएको छ । लकडाउन लगाउनुहुँदैन भनेर । त्यस्तै कलकारखाना, व्यापार व्यवसाय, वित्तिय क्षेत्रहरु सुचारु गर्नुपर्छ । खासगरी हामीले नियमित माक्स लगाउने, सामाजिक दुरी कायम गर्ने, भीडभाड नगर्ने हो भने यो सर्नै पाउँदैन । माक्सालाई अनिवार्य गर्ने र भीडाभाड नगरी एकअर्कालाई छुने काम गर्ने हो भने यो रोग धेरै हदसम्म सर्दैन भन्ने विभिन्न विज्ञहरुमा सुझाव आएको थियो ।
त्यसोभए अहिलेको अवस्थामा कोरोना नियन्त्रणको लागि सरकारले चालेको कदम सबै सफल भयो भन्ने तपाईंको निष्कर्ष हो ?
होइन… लामो हाँसो । कसले भन्यो सफल भयो भनेर । क्वारेन्टाइनमा हेरबिचार नपाएर, खान नपाएर मान्छेहरु मरिरहेका छन् । बोर्डरमा अभैm मान्छेहरु भीडभाड गरेर आइरहेका छन् । परीक्षणहरु भएका छैनन् । भारतबाट कतिपय मानिसहरु बिना परीक्षण गाउँगाउँ पुगिसकेका छन् । संक्रमितहरु बढिरहेका छन् । अन्य दीर्घ रोगीहरु औषधिको अभावमा अकालमा मरिरहेका छन् । क्वारेन्टाइनहरु बस्न मिल्ने न्यूनतम मापदण्डका पनि छैनन् । यस्तो अवस्थामा यो सरकारलाई सफल त भन्नै मिल्दैन नि । सुरुमा चाहीं ठीक–ठीक थियो । अन्तिमतिर आएर गडबड भएको छ । अब आशा गरौं हामीले दिएको सुझावले जे बिग्रिइरहेको छ त्यो सुधारियोस् ।
पछिल्लो समय संक्रमणको संख्या ह्वात्तै बढिरहेको छ अब के गर्दा समस्याको समाधान हुन्छ ?
सबभन्दा पहिलो कुरा यो भाइरस छिट्टै भाग्नेवाला छैन । अब यो भाइरससँग भागेर, लेकेर जोगिन सकिँदैन । त्यसैले यसलाई व्यवस्थापन गर्नुपर्छ । त्यो कुरा हामी आफैमा भरपर्छ । लकडाउनलाई पनि तपाईं, हामीले नै व्यवस्थापन गर्ने हो । अहिले देखिएको जोखिम समूहलाई राम्रोसँग क्वारेन्टाइनमा राख्नुपर्छ । चाहे अस्पतालमा होस् या उहाँहरुको घरमै । बाँकीले माक्स लगाउने, सामाजिक दुरी कामय गर्ने, सरसफाइमा ध्यान दिने । र, सबैले आ–आफ्नो काम गर्न थाल्नुपर्छ । अब कोरोनासँग लड्ने भनेको त्यसैगरी हो । हामीले यो भाइरससँग सामान गरेर बाँच्न सक्नुपर्छ । अब लुकेर, डराएर, घरमा बसेर हराउँछ भन्ने होइन । कोरोनासँग लड्दै जीवनयापनमा अगाडि बढ्नुपर्छ । अब भागेर, लुकेर जीवन चल्दैन ।
तपाईले पहिला स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्छ भन्नुभएको थियो होइन ?
मैले संकटकाल लगाउनुपर्छ भनेको होइन । यसलाई अलि व्यवस्थिति ढंगले अगाडि बढाउनुपर्छ भनेको हो । संकटकाल लगाइहाल्नुपर्छ भन्नेमा व्यक्तिगत रुपमा म जरुरी देख्दिँन । त्यो भएपछि झन् मान्छे डराउँछन्, आत्तिन्छन् । अहिले नै संकटकाल लगाइहाल्नुपर्छ भन्ने मलाई लाग्दैन ।