Logo

डिएसपी सुवेदीको विदाई, भट्टको स्वागत र शीलाई सम्मान



काठमाडौं २३ काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट सरुवा भई जान लागेका डिएसपी लालध्वज सुवेदीको बिदाइ र वृत्तमा आएका डिएसपी निरञ्जनदत्त भट्टको स्वागत गरिएको छ । यसै अवसरमा बोधिसत्व विहारका मास्टर हेगुवाङ शीलाई सामुदायिक प्रहरीले सम्मान गरेको छ ।

नेपालमा रहेका बोधिसत्व विहारका मास्टर हेगुवाङ शीलाई सामुदायिक सेवा मञ्च तथा सामुदायिक प्रहरी स्वयम्भूले सम्मान गरेको छ । लकडाउनका बेला बोधिसत्व विहारले स्वयम्भू क्षेत्रमा गरेको समाजसेवाको कदरस्वरूप विहारका मुख्य सञ्चालक शीलाई सम्मान गरिएको हो ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट सरुवा भई जान लागेका डिएसपी लालध्वज सुवेदीको बिदाइ र वृत्तमा आएका डिएसपी निरञ्जनदत्त भट्टको स्वागतका लागि आज आयोजित कार्यक्रममा मञ्चका अध्यक्ष अमित पाण्डेसँगै डिएसपीद्वय सुवेदी र भट्टले शीलाई खादा ओडाएर सम्मान गरेका हुन् । कार्यक्रममा मञ्चका पूर्वअध्यक्ष तथा सल्लाहकार राजु खरेल, विहारसम्बद्ध समाजसेवी शान्त शर्मा, समाजसेवी पत्रकार शिव अधिकारी अविरल लगायतको उपस्थिति थियो । बोधिसत्व विहार प्राणी सेवामा समर्पित बौद्ध धर्मावलम्बीहरूको अन्तर्राष्ट्रिय संस्था हो ।

ताइवानी नागरिक शी यसका मूल सञ्चालक हुन् । लकडाउनअघि नेपाल आएका शी लकडाउनका कारण यतै अड्किएका छन् । उनको नेपाल बसाइँले विहार मार्फत हुने मानवसेवाका कार्यक्रमलाई सक्रिए बनाईएको छ । कोरोना महामारीबीच जारी लकडाउनयता विहारले स्वयम्भू आसपासका क्षेत्रमा मात्रै २५ हजारभन्दा बढीलाई निःशुल्क खाना खुवाइसकेको छ ।

राजधानीभर एक लाखभन्दा बढीलाई निःशुल्क खाना खुवाएको विहारले शिशुलाई ल्याक्टोजिन, बालक र वृद्धलाई सर्वोत्तम पिठोको लिटो र सुत्केरीलाई जडीबुटीजन्य औषधीसमेत बाँडिरहेको छ । मानव मात्र नभई सिङ्गो प्राणीजगतको सेवाको लक्ष्य राख्ने विहारले धार्मिक क्षेत्रमा आवागमन बन्द भएसँगै भोको पर्न थालेका स्वयम्भू क्षेत्रका बाँदरहरूलाई हरेक दिन चना खुवाइरहेको छ ।

विहारले देशभरका विभिन्न अस्पताल, सुरक्षा निकाय, राजधानी छिर्ने सबै नाकाका चेकपोस्ट र केन्द्रीय कारागारलाई पिपिईसहित स्वास्थ्य सुरक्षा र सरसफाइका सामग्री सहयोग गरेको छ । यसैबीच, विहारले जोखिम क्षेत्रमा सूचना संकलनमा खटिने २०० भन्दा बढी पत्रकारलाई पिपिई, प्रेस ज्याकेट, मास्क, ग्लब्स, स्यानिटाइजर उपलब्ध गराईसकेको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्