Logo

कागज खरिद प्रकरणमा गोरखापत्रका पूर्व महाप्रबन्धक कोइरालामाथि भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं, २३ जेठ । पत्रिका छाप्ने कागज खरिद प्रकरणमा गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक सुशील कोइरालासहित चारजनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । अख्तियारले आज उनीहरुविरुद्ध बिगोदाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

गोरखापत्र संस्थानले प्रिन्ट कागज खरिद गर्दा भन्सार छुटको लागि सिफारिस गरी रकम हिनामिना गरेको उजुरीमा अनुसन्धान हुँदा उनी दोषी पाइएको भन्दै अख्तियारले मुद्दा दायर गरेको जनाएको छ । गोरखापत्र संस्थान र प्रिन्टसेल इमेजिङ प्रा।लि। बीच न्यूज प्रिन्ट कागज खरिदसम्बन्धी सम्झौतामा भन्सार महशुलबापतको सम्पूर्ण रकम प्रिन्टसेल कम्पनीकै हुने भन्ने स्पष्ट व्यहोराको सम्झौताविपरीत तत्कालीन महाप्रबन्धक सुशील कोइरालासमेतको मिलेमतोमा आफूलाई फाईदा र सम्झौताको शर्तविपरीत भन्सार छुट गराईएको अख्तियारले जनाएको छ । उनले २६ लाख रुपैयाँ प्रिन्टसेल इमेजिङ कम्पनीलाई फाइदा हुने गरी भन्सार छुट सिफारिस र भुक्तानी दिने लिने कार्य गरेको पुष्टि हुन आएको भनेको छ ।

यसैगरी सोही प्रकरणमा गोरखापत्रका अर्थ निर्देशक रामसुन्दर चौधरीलाई २६ लाख बिगोसहित मुद्दा दायर गरिएको छ ।
कागज आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रा।लि।का संचालक दिपक कुमार भंसालीले सम्झौताअनुसार सम्पूर्ण भन्सार शुल्क आफ्नो कम्पनीले नै सम्झौताअनुसारको रकमबाट नै व्यहोर्नु पर्नेमा सम्झौता शर्तविपरीत भन्सार छुटको लागि सिफारिस माग गरी भन्सार छुट गराई सम्झौताबमोजिमको सम्पूर्ण रकमसमेत सोही कम्पनीले नै भुक्तानी लिई कम्पनीलाई लाभ र गोरखापत्र संस्थानलाई ग्रैह्रकानुनी हानी पुर्‍याउने बदनियतले काम गरेको उल्लेख छ । भंसालीलाई पनि २६ लाख बिगो कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot