साबित्री सुवेदी-थरलाई शिरमा राखेर मानवता गुमाएपछि पश्चिम रुकुममा ६ जना कलकलाउँदा युवाको अत्यन्तै क्रूर, अमानवीय, बर्बरतापूर्ण र नरसंहारकारी सामूहिक तरिकाले भएको हत्याकाण्डको जति निन्दा गरे पनि कम हुन्छ । यो घटना मानव इतिहासकै सबैभन्दा कलंक होस् र अन्तिम पनि होस् ।
यही घटनाको विषयलाई लिएर रेखा थापाले आफ्नो विचार सामाजिक सञ्जालमा राखेपछि उनीमाथि भएको अर्को लज्जास्पद् आक्रमण बारे केही बोल्न मन लाग्यो । हो रेखा थापा मात्रै होइनन्, जोसुकैका कुरामा पनि सहमति असहमति जनाउन पाइन्छ । नेपालको कानूनले नै बोल्न पाउने स्वतन्त्रता दिएका कारण हामी प्रधानमन्त्री, राष्ट्रपतिदेखि लिएर मन नपरेका जोसुकैको खुलेर विरोध, समर्थन गर्न सक्छौं, गरिरहेका छौं, जुन कानूनको उज्ज्वल पक्ष हो । सबैका, सबै विचार, सबैलाई मन पर्छन् भन्ने छैन र त्यस्तो हुदैन पनि ।
रेखाले आफ्नो स्टाटसको शुरूमै घटनाका दोषीलाई अविलम्ब कार्वाही र पीडितलाई न्यायको माग गर्दै एउटा किशोरीको पनि पक्षपोषण गरेकी रहिछन्, जुन घटनासंग प्रत्यक्ष जोडिएकी छन् । किशोरी वैचारिक रुपमा मात्रै होइन, सबै किसिमले अपरिपक्व छिन्, नाबालिग छिन् । नेपालको कानूनले नै १८ वर्ष मुनिका व्यक्तिलाई बालबालिका भनेर तोकेको छ । जुन कुरामा कोही अनभिज्ञ छैनौं र हुन पाइदैंन पनि ।
अति नै क्रूर र घृणित तरिकाबाट मान्छे भन्दा पनि लाज हुने मान्छेबाटै भएको यो घटना ठीकै भयो, सही भयो भन्ने हिम्मत कसैले राख्ला र ? हो, फेरि पनि भन्छु, मान्छे नामका कथित मान्छेहरू, कुनै दिन आफ्ना स्वार्थ पूरा गर्न मान्छेको बली चढाएर खुशीयाली मनाएका, हत्यारा, बलात्कारी, अपराधीहरूलाई यो घटना सामान्य लाग्ला । अपराधको राजनीति र राजनीतिको अपराधिकरण गर्नमा अभ्यस्तहरूलाई यो घटनाले कहिँकतै नछोला । तर सानो भए पनि मान्छेको हृदय भएकाहरू कसले नभन्लान् र यो आततायी घटनामा संलग्नहरूलाई हदैसम्मको कार्वाही होस् । यो घटनाबाट पाठ सिकेर यस्ता घटना घटाउनेलाई थप कानून बनाउने हिम्मत र पाठ मिलोस् भनेर । ताकि अकालमा ज्यान गुमाउने ती कलिला देशका कर्णधारहरूमाथि न्याय होस् । तिनका आफन्त, लालाबाला र सम्पूर्ण विश्वका न्यायप्रेमीमाथि न्याय होस् ।
तर के थरलाई बिर्सेर मान्छेमान्छे बीच सम्बन्धको बिउ राख्ने हिम्मत गरेका कथित दलित र गैर दलित ती ६ जना निर्दोषमाथि न्याय होस् भन्दै गर्दा घटनासंग प्रत्यक्ष जोडिएकी किशोरीको अधिकारका लागि बोल्नु अपराध हो ? कथित सानो थरले ठूलो भनिएको थरकी छोरी भगाउन लागेको थाहा पाएपछि गाउँ नै उर्लेर ६ जनाको सामूहिक हत्या गर्ने भीडमा भाग्यले नै बाँचिन् सायद ती किशोरी । नत्र भने उमेर नपुग्दै आफूभन्दा परिपक्व उमेरका युवकसंग प्रेम सम्बन्धमा रहेकी भनिएकी ती किशोरी पनि त्यही भीडको शिकार भएकी भए तिनीमाथि आज न्यायका लागि आवाज उठाइरहेको यही जमात सायद ‘वाउ’ भन्थ्यो । ती किशोरीको बहादुरी र प्रेम पनि कुनै साहित्यकारको कथा, कविता र गीतमा अवश्य अटाउँथ्यो । जसको भावमा हामी सलललल बग्थेउँ । आँखा रसाउँथे हाम्रा । मुटु दुख्थ्यो हाम्रो । जसलाई हामी गर्वका साथ लाइक, कमेन्ट र शेयर गर्थेउँ ।
तर खोई त आज किशोरीमाथि नानाथरि गाली गलौज हुँदा अधिकारकर्मीले निकाल्ने विज्ञप्तिमा मात्रै पनि उनको मानवअधिकारको कुरा अटाएको ? कथित थरका आधारमा मान्छेको सामूहिक हत्या भएको घटनामा भाग्यले बाँचेकी किशोरीको मानव अधिकार खोई ? हामी न्याय र समानताका लागि लड्छौं भन्दै गर्दा कलिलो उमेरमा प्रेम गरेबाफत आफ्नै अनि आफ्नैबाट समेत घृणा र तिरस्कारसहित प्रेमीको लास उपहार पाएकी ती अबोध किशोरीका लागि हाम्रो आवाज खोई ?
त्यही किशोरीका कारण ६ युवकको ज्यान गयो भनेर भए भरको सबै दोष किशोरीको टाउकोमा हालेर उनलाई अबको जीवन बाँच्न नदिने मानसिकताहरूले न्यायको लागि आवाज उठाउनु, राज्य संयन्त्रको विरोध गर्नुको कुनै तुक छ र ? किशोरी नै घटनाको सबै दोषी हो भने उसलाई पनि यही तरिकाले मारिदिऔं, हुन्छ ? के किशोरीको मृत्यु र अपमानले ती निर्दोष ६ ज्यानमाथि न्याय हुन्छ ? जातीय विभेदको अन्त्य हुनुपर्ने माग गर्दै हिजो राजतन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दासम्म पनि आवाज उठाइरहेका हामीलाई किशोरीको विभत्स तरिकाले हत्या गर्दा मात्रै मन अघाउँछ त ? यदि होइन भने, एउटा अपरिपक्व किशोरीमाथि चौतर्फी भइरहेको गाली, बेइज्जती, अपमान र घृणाको वर्षा रोकिनु पर्छ । हत्या गरिएका ६ जना, घटनाबाट ज्यान जोगाई भागेका अन्य युवासहित यी किशोरीमाथि पनि न्याय हुनुपर्छ । किशोरीले पनि सम्मानित जीवन बाँच्न पाउनु पर्छ ।
र अन्तमा किशोरीको आत्मसम्मान र न्यायका लागि पनि बोल्न सक्ने रेखा थापालाई सलुट । र उनीमाथिको घृणित आक्रमण पनि तत्काल बन्द गरिनुपर्छ । किनकी ती किशोरी र यी रेखामाथिको हुर्मत पनि कुनै जघन्य अपराधभन्दा कम होइन, मानिने छैन । File Photo