Logo

उधारोले चिया किसान समस्यामा



काठमाडौँ, २४ जेठ । उत्पादन भएको चिया उधारोमा बिक्री गर्नुपर्दा न्यून आय भएका यहाँका किसान अहिले समस्यामा परेका छन् ।

चिया टिपाइको मुख्य समयमा कोरोना भाइरसका कारण लकडाउन लम्बिँदै जाँदा दैनिक उपभोग्य वस्तुहरू खरिद गर्नका लागि हुने आम्दानी हराउँदा साना किसान समस्यामा परेका हुन् । फाकफोकथुम–२ की फूलमाया राईले आफ्नो थोरै जमिनमा रहेको चिया उधारोमै बिक्री गर्नुपर्दा हातमुख जोर्ने समस्या परेको बताएका छन् ।

राईले तीनजुरे चिया कृषक सहकारी संस्थालाई हरियो पत्ती बिक्री गर्दै आएको छ । फाकफोकथुम–७ का नन्दलाल दर्जीको पनि समस्या त्यस्तै छ । दुई रोपनी जमिनमा चिया खेती गर्नुभएका दर्जीको पनि विकल्प केही छैन । चियाको पैसा आएको छैन, हामीले राहत पनि पाउँदैनौँ, पेटभरि भात खानै नपाइने अवस्था आयो, उनले भने । संस्थाले पनि आफ्ना २६८ किसानको पहिलो सिजनको हरियो चियाको मूल्य दिनसकेको छैन । संस्थाले प्रशोधन गरेर निकासीका लागि तयारी चिया गोदाममै थन्क्याएको छ ।

पहिलो सिजनको पाँच हजार किलो तयारी चिया गोदाममा छ । संस्थाका प्रबन्धक पदम तामाङले भने, “किसान, कर्मचारी, श्रमिक कसैलाई पनि हामीले रकम भुक्तानी गर्न सकेका छैनौँ, तयारी चिया बिक्री नभई कसैलाई पनि रकम दिनसक्ने अवस्था सहकारीको पनि छैन । ”
तामाङले रकम दिन नसक्दा साना र न्यून आय भएका किसान र श्रमिकलाई भने दैनिक गुजारा चलाउन समस्या पर्न थालेको जानकारी दिएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्