काठमाडौं, २४ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले अमेरिकी सहयोग सम्झौता एमसीसी देशको हितमा नभएकै कारण आफूहरुले विरोध गरेको स्पष्ट पारेका छन् । शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि एमसीसी जसरीपनि पारित गर्ने कुरा नगरेको जिकिर गरे ।
प्रधानमन्त्री निवास बालुवाटारमा केही दिन अघि भएको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भनेको कुरा सुनाउँदै भने-“उहाँले एमसीसी जसरीपनि पारित गर्ने कुरा गर्नुभएको छैन् । उहाँले राष्टिय हित र स्वाधिनताको विपरित यो पारित हुँदैन् । जबसम्म यो अनुमोदन हुँदैन्, तबसम्म यसका कामहरु रोकिन्छन् । पार्टीमा छलफल गरेरमात्रै हामी निश्कर्षमा पुग्छौं भन्नुभएको छ ।”