Logo

लकडाउनको मारमा गर्भवती



चुरियामाई, २४ जेठ: कोभिड—१९ को कारणले गर्दा गर्भवती महिलाहरुलाई समस्या भएमा र आपत्कालीन अवस्थामा बाहेक घरमा नै सुरक्षित बस्नुहोला, केही परेमा मलाई फोन गर्नुहोला”, यो हेटौंँडा अस्पतालका स्त्रीरोग विशेषज्ञ चिकित्सक राघवेन्द्र ठाकुरले आफ्ना बिरामीका लागि सामाजिक सञ्जालमार्फत दिनुभएको सूचना हो । उहाँले आफ्ना बिरामीलाई सुरक्षित भएर बस्न भन्नुभएको छ । नियमित जाँचमा आउने बिरामीलाई पनि उहाँले समस्या परे मात्र सुरक्षित भएर आउन सुझाइएको राससलाई बताउनुभयो ।

पछिल्लो समय हेटौंँडा अस्पताल सुधार भइसकेपछि नजीकको तराईका जिल्ला(बारा, सर्लाही, रौतहट) लगायतबाट पनि नियमित जाँच तथा सुत्केरी गराउनका लागि हेटौंँडा अस्पताल आउनेको संख्यामा वृद्धि भएको तर बन्दाबन्दीमा समस्या परेका र समय पुगेका गर्भवतीलाई मात्र आउन सुझाइएको चिकित्सक ठाकुरको भनाइ छ । उहाँले हाल पाँच दिनदेखि भने अस्पतालको बहिरंग सेवा नै बन्द भएका अवस्थामा आपत्कालीन बिरामी मात्र लिइएको जानकारी दिनुभयो । बन्दाबन्दीका कारण अरु शल्यक्रिया रोक्न मिल्ने भए पनि गर्भवतीको रोक्न नमिल्ने कारण बन्दाबन्दीका अवधिमा मात्र १२० भन्दा माथि शल्यक्रिया गरिएको जानकारी दिनुभयो । नियमितरुपमा जाँच गराउँदै आइरहेका गर्भवतीलाई भने घरमा नै बस्न भनिएको उहाँको भनाइ छ । कोरोना संक्रमण जोखिम कम गर्न अस्पतालले यस्तो उपाय अपनाएको चिकित्सक ठाकुरको भनाइ छ । महिलाहरु कोरोना संक्रमणसँंग डराएका कारण पनि व्यथा लागेको र शिशु नचलेका अवस्थामा मात्र अस्पताल आउने गरेको उहाँले जनाउनुभयो ।

अस्पताल तथा चिकित्सकभन्दा पनि अहिले सुत्केरी हुने समय आइपुगेकामा गर्भवती चिन्तित देखिएका छन् । हेटौंँडा उपमहानगरपालिका—४ की कौशिला बर्तौलाको सुत्केरी हुने समय आउन अब १० दिन मात्र बाँकी छ । पहिला पनि पाठेघरको शल्यक्रिया गराइसक्नुभएका उहाँलाई सुत्केरी हुन जाँदा कोरोना संक्रमण होला भन्ने चिन्ता छ । उहाँ भन्नुहुन्छ, “ अस्पतालदेखि घरसम्म बच्चा लिएर कसरी सुरक्षित आइपुग्ने चिन्ताले निद्रा लाग्न छाड्यो ।” एकल परिवार र श्रीमान्को व्यस्तताले गर्दा साथीभाइ र छिमेकीसँग सहायता लिनुपर्ने भएको तर जटिलावस्थाका कारण सहयोग पाइँदैन कि भन्ने अर्को चिन्ता रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “ के गर्नू, अस्पतालमा कुर्ने नि कार्ही हुँदैन जस्तो छ, सबै डराउँछन् अस्पताल जान ।” उहाँ अहिले सकेसम्म प्राकृतिक जन्म दिने सोंचमा हुनुहुन्छ तर पहिलाको शल्यक्रिया भएका कारण सकिँदैन कि भन्नेसमेत चिन्ता रहेको बताउनुहुन्छ । File photo



प्रतिक्रिया दिनुहोस्