Logo

ट्राभल हिस्ट्रीबिनै कोरोना संक्रमण



पोखरा, जेठ २५ । अन्य प्रदेशमा कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गर्दा गण्डकी प्रदेश सुरक्षित देखिन्थ्यो। त्यसमा पनि प्रदेश राजधानी कास्कीको पोखरामा त संक्रमण शून्य नै थियो। तर ट्राभल हिस्ट्री नै नभएका एक व्यक्तिमा शुक्रबार एकाएक कोरोना संक्रमण पुष्टि भएपछि भने पोखरेली तर्सिएका छन्।

पोखरा नै नछाडेका ती व्यक्ति कसरी संक्रमित भए, यो प्रश्न धेरैलाई टाउको दुखाइ बनेको छ। पोखरा महानगरपालिका–८ सिमलचौरमा बस्ने ६० वर्षीय पुरुष गत मंगलबार कोठामा बेहोस अवस्थामा फेला परेका थिए। त्यसपछि उनलाई उपचारका लागि पोखराका विभिन्न अस्पताल हुँदै हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो। काठमाडौंमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

‘पोखरा नै नछाडेका व्यक्तिमा कसरी कोरोना स¥यो भनेर हामी अचम्मित भएका छौं’, पोखरा–८ का अध्यक्ष रुद्रनाथ बरालले भने। अध्यापन र कानुनी पेसामा संलग्न ती व्यक्ति बिरामी परेर अस्पताल पुगेपछि पोखराका हाई प्रोफाइल व्यक्ति उनलाई भेट्न अस्पताल पुगेका थिए। ‘संक्रमित व्यक्तिको गतिविधि पत्ता लगाउने प्रयास भइरहेको छ,’ बरालले भने, ‘धेरैतिर चिरपरिचित व्यक्ति भएकाले पनि सम्पर्क बढी भएको आशंका गरिएको छ। अरुमा संक्रमण छ÷छैन भन्ने पत्ता लगाउनुपर्ने अवस्था छ।’

महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माका अनुसार संक्रमित व्यक्तिको सम्पर्कमा रहेका ३० जना उच्चपदस्थ व्यक्ति सम्पर्कमा आएका छन्। उनीहरु संक्रमित व्यक्ति बिरामी परेपछि भेटघाटका लागि अस्पताल पुगेका थिए। ‘कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ।

अहिलेसम्म ३० जनाजति सम्पर्कमा आएका छन्,’ शर्माले भने, ‘पहिलो लाइनका संक्रमित व्यक्ति पहिचानको काम भइरहेको छ। हामीले संक्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिलाई मात्र पहिचान गर्न थालेका छौं। धेरैजना आफैं सम्पर्कमा आउनुभएको छ।’ पहिचान गरिएका व्यक्तिमा संक्रमण भएनभएको परीक्षण हुने उनले बताएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्