Logo

कोभिड निर्देशिका



काठमाडौँ, २५ जेठ । क्यानले विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडानलाई लक्ष्य गर्दै कोभिड विशेष सुरक्षा निर्देशिका कार्यान्वयनमा ल्याएको छ ।

पहिलो चरणमा ल्याइएको सुरक्षा निर्देशिकालाई विकसित परिस्थितिअनुसार संशोधन गर्दै जाने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिएका छन् । उनका अनुसार प्राधिकरणले हवाई यात्रामा जोडिने सबै सरोकार पक्षले पालना गर्नुपर्ने विषय समेटेर सुरक्षा निर्देशिका बनाएको हो ।

उक्त निर्देशिकानुसार यात्रुले टिकट र बोर्डिङ पाससँगै कोभिड १९ को स्वघोषणा पत्रसमेत भर्नुपर्नेछ । त्यसमा यात्रुले कोभिड जाँच गरे नगरेको तथा स्वास्थ्य समस्या भए नभएको जस्ता विवरण राखिएका छन् । यात्रुले जस्तै उडान कर्मचारीलाई समेत स्वघोषणाको आवश्यकता पर्नेछ । त्यस्तो घोषणापत्रमा झूटा विवरण राखेर हवाई यात्रा गरे कानूनी कारबाही भोग्नुपर्ने गरी सुरक्षा निर्देशिका बनाइएको छ ।

रुघाखोकी, १००.४ डिग्री फरेनहाइट ज्वरो, सास फेर्न कठिन हुनेलगायत समस्या भएमा यात्रुलाई जहाज चढ्ने अनुमति मिल्ने छैन । साथै ७० वर्षभन्दा माथि, गर्भवती र गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिरहेका व्यक्तिलाई समेत सम्भव भएसम्म हवाई यात्रा नगर्न क्यानले सुझाव दिएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्