Logo

कोरोनाको प्रभाव : मनोवैज्ञानिक असर समाधान गर्न परामर्श कार्यक्रम सञ्चालन हुने



पोखरा, २५ जेठ : गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण सर्वसाधारणमा परेको मनोवैज्ञानिक असर समाधान गर्न मनोवैज्ञानिक परामर्श कार्यक्रम सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७७÷७८ को वार्षिक नीति तथा कार्यक्रममा सरकारले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणका साथै यसबाट सिर्जित विभिन्न समस्याको समाधानमा जोड दिएको हो । कोरोनाको परीक्षणलाई व्यापक विस्तार गर्ने र निःशुल्क परीक्षण तथा उपचार गर्ने कार्यलाई निरन्तरता दिइने उल्लेख गर्दै नीति तथा कार्यक्रममा यसबाट नागरिकको रक्षा गर्न सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने र यसका विरुद्ध लड्न स्वास्थ्य प्रणालीलाई सुदृढ गरिने उल्लेख गरिएको छ ।

ज्याला मजदुरी गरी जीवन गुजारा गर्ने र विपन्न व्यक्तिलाई लकडाउनको अवधिमा जीवन निर्वाहका लागि स्थानीय तहसँगको सहकार्यमा राहत तथा रोजगारी उपलब्ध गराइने प्रदेश प्रमुख अमिक शेरचनले बताउनुभयो । महामारीबाट प्रभावित दैनिक ज्यालादारी गर्ने मजदुर, महिला, दलित, गरिब तथा सीमान्तकृत, असहाय तथा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकको हित संरक्षण गर्न विशेष कार्यक्रम ल्याउने सरकारको तयारी छ ।

पर्यटन, कृषि, उद्योग, यातायात, निर्माणलगायतमा महामारीले पारेको असरका आधारमा क्षेत्रगत पुनरूत्थानका विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । रोजगारी गुमाएका, विदेश जान रोकिएका र विदेशबाट फर्केका व्यक्तिको श्रम, पूँजी, सीप र रुचिका आधारमा पर्यटन, कृषि, उद्योग, यातायात, निर्माणलगायतका क्षेत्रमा आवश्यकतानुसार प्राविधिक तथा व्यावसायिक तालिम, प्रविधि तथा बीउपूँजी प्रदान गरी उद्यमशीलता विकास तथा स्वरोजगारी र रोजगारी प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने सरकारले भनेको छ ।

महामारीबाट प्रभावित उद्यमीलाई सहुलियतदरमा आवश्यक यन्त्र तथा उपकरण उपलब्ध गराउने र सहुलियत कर्जाका लागि बैंक तथा वित्तीय संस्थासँग समन्वय गरिने नीति तथा कार्यक्रममा जनाइएको छ ।रासस FIle photo



प्रतिक्रिया दिनुहोस्

Screenshot