Logo

चकलेटमा कर घटाउने र कृषि मलमा कर वृद्धिको बजेट ल्याउन अर्थमन्त्री खतिवडा



काठमाडौं, २५ जेठ । प्रतिनिधिसभाका सदस्यले आर्थिक वर्ष २०७७/७८ को बजेटमा नेपालका लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायत भाररतद्वारा अतिक्रमित क्षेत्रका लागि बजेटमा कुनै कार्यक्रम नआएकामा चिन्ता व्यक्त गरेका छन् ।

विनियोजन विधेयक–२०७७ का विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उनीहरुले सो क्षेत्रका जनताका लागि सडकलगायत पूर्वाधार र सेवासुविधाको कार्यक्रम बजेटमा केही न केही ल्याउनुपर्नेमा जोड दिए । आइतबार बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिंचाइ, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह र रक्षा मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयसम्बन्धी विनियोजन शीर्षकमाथि सामुहिकृत छलफलमा यस्तो बताइएको हो ।

छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीमबहादुर रावलले बजेटमा कतिपय राम्रा कार्यक्रम रहेको र त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उनले कोरोना रोकथाम र उपचारका लागि जनशक्ति तथा साधन स्रोत कम भएको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

उनले भारतद्वारा अतिक्रमित नेपालका भूभागका लागि बजेट तथा कार्यक्रम नआउनु र रोजगारी सिर्जना तथा कृषिमा अपेक्षाकृत कार्यक्रम नआउनु उचित नभएको बताए । उनले संयुक्त राज्य अमेरिकी सहयोग एमसिसी अनुमोदन नहँुदै त्यसअन्तर्गत कार्यक्रम बजेटमा समावेश गरिनु गैरजिम्मेवारी भएको आरोप लगाए ।

चकलेटमा भन्सार कर घटाउने र कृषि मलमा कर बढाउने नीति समाजवाद नीति विपरीत रहेको टिप्पणी गर्दै नेता रावलले विद्युतीय सवारीमा निरुत्साहित नीति कसरी आयो भनी प्रश्न गरेका छन् ।

नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सधँै वर्षामा आउने बाढी र पहिरो नियन्त्रण गरी जनजीवन सहजताका लागि सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले देशभरका सामुदायिक विद्यालयलाई क्यारेन्टिन बनाउने अनि निजी विद्यालय सञ्चालन हुने आशय दिनु गलत भएको बताए । सबै अस्थायी, आंशिक, करार प्राध्यापक र शिक्षकलाई संकटको बेला राहत दिनुपर्ने उहाँको माग थियो ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालका नक्शा र सांसदको प्रतीकचिह्नमा समाहित गरिएको तर कुनै पनि मन्त्रालयको शीर्षकमा त्यो भूभागका लागि कुनै बजेट नछुट्याइएको बताए । के ती भूभाग कागजमा मात्र ल्याउन खोजिएको हो भनी उनले प्रश्न गरे । वास्तविक रुपमा भूमि नै फिर्ता ल्याउनका लागि सबै मन्त्रालयअन्तर्गत बजेट छुट्याएर कुनै न कुनै कार्यक्रम ल्याउन उनले माग गरे ।

राष्ट्रिय जनता पार्टीका नेता अनिलकुमार झाले कोरोना रोकथामका लागि बनाइएका क्वारेन्टिन अव्यवस्थित हुँदा स्वस्थ्य व्यक्तिसमेत संक्रमित भएको बताउँदै सरकारको ध्यानाकर्षण गराए । सरकारले कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसक्दा भयावह र जोखिमयुक्त स्थिति बढेको बताउँदै उहाँले चिन्ता व्यक्त गरेका छन् ।

विश्वविद्यालय र विद्यालयमा काम गर्ने प्राध्यापक, शिक्षक र कर्मचारीबारेमा आवश्यक बजेट र कार्यक्रम नभएको बताउँदै नेता झाले त्यस क्षेत्रमा जीवन निर्वाह नभए बौद्धिक वर्ग कहाँ जाने भनी प्रश्न गरे ।- राससको सहयोगमा



प्रतिक्रिया दिनुहोस्