Logo

तिलोत्तमा : कृषि, स्वास्थ्य र शिक्षा प्राथमिकतामा



काठमाडौँ, २६ जेठ । कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा दिएर तिलोत्तमा नगरपालिकाले तयार गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम नगरसभाबाट पारित भएको छ ।

नगरपालिकाको साताँैं नगरसभाको पहिलो बैठकमा नगर प्रमुख वासुदेव घिमिरेले कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई ध्यानमा राखी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रम आइतबार बसेको नगरसभाको दोस्रो बैठकमा दफाबार छलफलपछि सर्वसम्मत पारित भएको हो ।

बैठकमा नगरसभा सदस्य भोमबहादुर बुढा मगर, मानकाजी श्रेष्ठ, रमेश आचार्य, धनबहादुर खड्का, श्यामकुमारी गौतम, श्यामलाल क्षेत्री, पार्वती क्षेत्रीलगायतले नीति कार्यक्रमको सफल कार्यान्वयनमा जोड दिएको थियो । नगरसभा सदस्यले राखेका जिज्ञासाको जवाफ दिँदै नगर प्रमुख घिमिरेले स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्नु, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउनु, कृषि उत्पादनमा आत्मनिर्भर बन्नु अहिलेको अपरिहार्य आवश्यकतालाई नीति तथा कार्यक्रममा समावेश गरिएको बताएका छन् ।

नीति तथा कार्यक्रम नगरको एकीकृत शहरी विकास योजना कार्यान्वयनमा केन्द्रित रहेको उनको भनाइ थियो । नगरका स्वास्थ्यचौकीलाई न्यूनतम पूर्वाधार, उपकरण र जनशक्तियुक्त बनाई भरपर्दो र विश्वसनीय सेवासहितको आकर्षक स्वास्थ्य केन्द्रका रुपमा विकास गर्ने, थप दुई स्वास्थ्यचौकीमा चिकित्सक नियुक्त गर्ने, प्रयोगशालाबाट एनालाइजरसहितको सेवा प्रदान गर्ने, सेमराबजार स्वास्थ्यचौकीलाई अस्पतालका रुपमा रुपान्तरण गर्ने, प्रत्येक स्वास्थ्य संस्थामा सुविधासम्पन्न खोप केन्द्र सञ्चालनका लागि पूर्वाधार निर्माण गर्ने तथा सामुदायिक विद्यालयमा विद्यालय स्वास्थ्य कार्यक्रम लागु गर्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख छ । (रासस)



प्रतिक्रिया दिनुहोस्