Logo

आर्मेनियाका प्रधानमन्त्री पाशिनयान कोरोनामुक्त, सुरक्षा प्रमुखहरु बर्खास्त



२७ जेठ : कोरोनाभाइरसबाट संक्रमित आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिनयान डिस्चार्ज हुनु भएको छ ।एक साताअघि प्रधानमन्त्री पाशिनयान र उहाँको परिवारका सदस्यहरुमा कोविड–१९ पोजेटिभ देखिएको थियो ।फेसबुकमा एक सन्देश लेख्दै प्रधानमन्त्री पाशिनयानले आफू र परिवारका सबै सदस्यको कोविड–१९ को पछिल्लो परीक्षणमा नेगेटिभ देखिएको बताउनुभएको छ ।

सोमबार बिहानसम्म आर्मेनियामा १३ हजार ३२५ जना कोरोनाभाइरसबाट संक्रमित देखिएका थिए जसमध्ये २११ जनाको मृत्यु भएको छ ।कोविड–१९ महामारी फैलिएसँगै आर्मेनिया सरकारले जारी गरेको आपतकालीन स्थिति आगामी जुन १३ तारिखसम्म रहने छ ।

यसैबीच, प्रधानमन्त्री पाशिनयानले मुलुकका तीनै सुरक्षा प्रमुखहरुलाई कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी कार्य गर्न नसकेको आरोप लगाउँदै पदबाट बर्खास्त गर्नु भएको छ ।बर्खास्तमा परेकाहरुमा सेना, प्रहरी र राष्ट्रिय सुरक्षा सेवाका प्रमुखहरु रहेका छन् । तर प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरुबाट के गल्ती भएको थियो भन्ने बारेमा केही बताउनु भएको छैन ।

स्थानीय अखबारले सेना प्रमुख आर्तक डाभत्यानले कोरोना संक्रमणकै अवस्थामा आइतबार छोराको विवाह भोज गरेलगत्तै प्रधानमन्त्रीले सेना प्रमुखलाई बर्खास्त गर्नु भएको लेखेको छ । आर्मेनियामा ठूला भेला, भोजभतेर गर्न निषेध गरिएको छ ।एएनआई



प्रतिक्रिया दिनुहोस्