काठमाडौं, २७ जेठ । राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले नेपाललाई सिक्किमीकरण गर्न चाहेको आरोप लगाए । तर, भारत असफल हुने उनको दाबी छ । मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रमम पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने-“२१औं शताब्दीमा नेपाली जनताले सिक्किम बनाएको देख्न चाहन्नन् । नेपाली जनताले नेपाललाई सिक्किम हुन दिँदैनन् । यो कुरा तपाईले थाहा पाईराख्नुहोस् । दिँदैनन् । जुनसुकै मूल्य चुकाएर भएपनि नेपाललाई नेपालनै बनाएर राख्छन् । कुनै नेताहरु, कुनै सांसदहरु, कुनै मान्छेहरुले त्यसरी सरेण्डर गर्लान्, लाभ उठाउलान्, उताको चाहीँ दलाली गरेर । चाकरी गरेर । तर, नेपाली जनताले यो मुलुकलाई सिक्किम बन्न दिन्न् । यो कुरा मैले आत्मविश्वासको साथ भनिराखेको छु ।” उनले नेपालको राष्ट्रियता विशेषगरि भारतबाट खतरामा रहेको पनि टिप्पणी गरे ।
केसीले अहिले निशान छापवाला संविधान संशोधन सबैले पास गर्नुपर्नेमा जोड दिएका छन् । आफ्नो पार्टीले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने र दायाँबायाँ नहुने पनि केसीको जिकिर छ । आफ्नो पार्टीले अहिलेको समयलाई नै उपयुक्त बेला ठानेर संघीयता खारेज गर्नुपर्ने मागसहित संघीय संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको पनि उनले स्पष्ट पारे ।