Logo

सरकार असफल भइसक्यो- महेन्द्र यादव, नेता, नेपाली कांग्रेस



काठमाडौं, २७ जेठ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री महेन्द्र यादवले सरकार असफल भएको बताएका छन् । कोरोना भाइरस रोकथामका सरकार असफल भएको र भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए । यादवसँग रेडियो एनआरएनका लागि ऋषि धमलाले गरेको कुराकानीः
तपाईंहरुले कोरोना नियन्त्रणमा सरकार असफल भयो भन्नुभएको छ, के कारणले असफल भयो ?
आज ७६-७७ दिनसम्मको लकडाउनमा सरकारले जति काम गर्नुपथ्र्यो । उसले कोरोना नियन्त्रणको क्षेत्रमा कुनै काम गर्न सकेन । त्यसकारण यो सरासर असफल भएको छ । संक्रमण दिनानुदिन फैलिइरहेको छ । कतिपयको मृत्युसमेत भइरहेको छ । क्वारेन्टाइनहरु यातना गृहजस्तो भएको छ । त्यसले यो महामारी नियन्त्रण गर्न सरकार पूर्ण रुपमा असफल सावित भएको छ । अहिले कुनै क्षेत्रमा काम गर्न सकेको छैन । खाली बील बनाउने, भ्रष्टाचार गर्ने र जनताको जीउधनको सुरक्षाभन्दा अन्यत्र ध्यान मोड्ने काम गरिरहेको छ । यसरी जनतोका पक्षमा काम गर्न यो सरकारले सकेन । नेपाली कांग्रेस जनताको पक्षमा काम गर्ने पार्टी हो । सधैं जनताको मायामतामा रहेको छ । त्यसैले नेपाली कांग्रेस जनतामाथि भएको अत्याचार रहेर बस्न सक्दैन ।
कुन–कुन क्षेत्रमा यो सरकार असफल भयो त ?
कोरोना नियन्त्रण र व्यवस्थापन गर्न कुनै काम भइरहेको छैन । टेस्टिङ पनि भइरहेको छैन । क्वारेन्टाइन त कोरोना संक्रमित उत्पादन गर्ने कारखाना जस्तो भएको छ । क्वारेन्टाइनमा बसेकाहरुले खान पाइराखेका छैनन् । त्यहाँकाको परीक्षण भएको छैन । संक्रमितको मृत्यु भइसकेपछि परीक्षण गरिन्छ । भ्यान्टिलेटर, आइसुलेसन छैन । परीक्षणको लागि किट छैन । औषधिलगायत चिकित्सकको लागि पीपीई, पञ्जा, माक्स छैन । विदेशमा रहेका नेपालीहरुलाई ल्याउने कुनै योजना छैन । यति धेरै दिन भइसक्यो । सरकारले सबै व्यवस्था मिलाएर जनतालाई सेवा दिनुपर्ने हो नि । यो रोग ६ महिना पहिला चाइनाबाट सुरु भयो । त्यसपछि युरोपियन मुलुकतिर गयो । हामीसँग अहिले अन्तिममा न आएको हो । भनेपछि हामीसँग कतिधेरै समय थियो तयारीका लागि । कतिपय चिकित्सकहरु स्वास्थ्य सामाग्री नभएर संक्रमित भएका छन् । यस्तो हुँदा पनि अहिलेसम्म सरकारले चेतेकै छैन ।
मन्त्रीहरुले सरकारले धेरै राम्रो काम गरेको भनिरहेका छन् अनि तपाईं कामै गरेको छैन भन्नुहुन्छ कसरी ?
मैले, हाम्रो पार्टीले होइन तपाईंहरुकै मिडियामा त्यस्तै समाचार आइरहेको छ । आज लगभग ४ हजार हाराहारी त संक्रमित भइसके । इण्डियाबाट मान्छेहरु आए । लकडाउन गरेपछि सरकारलाई पहिल्यै थाहा हुनुपर्दैन ? इण्डियामा हाम्रा लाखौं मान्छे छन् । त्यहाँ माहामारी फैलिएपछि ऊ आफ्नो घर आउन चाहन्छ, आफ्नो परिवारसँग बस्न चाहन्छ । त्यसकारण ऊ बोर्डरमा आउला त्यहाँ आएपछि उसलाई कस्तो व्यवस्थापन गर्ने हो । त्यसरी आएकालाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्ने संक्रमितलाई छुट्टै राख्ने संक्रमित नभएका घर पठाउने । आज ७७ दिन लकडाउन गरेको भयो । त्यो समयमा यी कामहरु सरकारले गर्नुपर्ने थियो । चाइना, भारतलगायत अन्य मुलुकहरु सहयोग गर्न तयार छ । तर सरकारले त्यो किटसम्म ल्याउन सकेको छैन । १० अर्ब खर्च भइसक्यो भनेको छ । यो कोरोनाको नाममा सरकार व्यापक भ्रष्टाचार गरिरहेको छ ।
सरकारका मन्त्रीहरु अहिले त मिलेर जाने भनिरहेका छन् नि त्यो सही हो ?
यी मन्त्रीहरु सरासर झुट बोलेर आफ्नो कमजोरी लुकाउने काम गरिरहेका छन् । नेपालमा यो माहामारीको विषयमा सर्वदलीय मिटिङ बस्ने बित्तिकै हाम्रा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीबाट ५० लाख दिएर भन्नुभयो, ‘हामी सरकारलाई सहयोग गर्न तयार छौं’ । बारम्बार संसदमा कुरा उठायो, सर्वदलीय बैठकमा कुरा उठायो । त्यसमा पनि भनियो, सर्वदलीय संयन्त्र बनाउन त्यसमा विज्ञहरु पनि राख । यो सबैको साझा दायित्व हो । नेपाली जनतालाई यो महामारीबाट बचाउने । तर, सरकारले सर्वदलीय संयन्त्र बनाउन सक्यो ? नेपाली कांग्रेसको सहयोग लिन सक्यो ? कांग्रेस संयन्त्रमा आएर बस्यो र सुझाव दियो भने उसलाई जस जान्छ भनेर लिन सकेन ।
यस्तो महामारीको अवस्थामा तपाईंहरु मिल्ने कि झगडा गर्ने ?
अहिले पनि हामीहरु त सहयोग दिन तयार छौैं । तर, सरकार आफै सहयोग लिन सकिरहेको छैन । अहिले सरकार आफू काम गर्न पनि सक्दैन र प्रतिपक्षको सहयोग लिन पनि चाहँदैन । नेपाल जस्तो सानो मुलुक जहाँ थोरै जनसंख्या छ । त्यो मुलुकमा अहिले नै ४ हजारको हाराहारी संक्रमित भइसके । पहाडका जिल्लाहरुमा फैलिसकेको छ । यही हिसाबले संक्रमितहरु बढ्दै जाने हो अमेरिका र इटलीभन्दा पनि भयावह स्थितिको सिर्जना हुन सक्छ ।
त्यसोभए अहिलेको अवस्थामा लकडाउन खुकुलो पार्नुपर्छ हो ?
लकडाउन खुकुलो पार्ने हो । तर, त्योभन्दा पहिला त चिकित्सकलाई आवश्यक सामाग्रीदेखि लिएर किट र क्वारेन्टाइको राम्रो व्यवस्था सरकारले गर्नुपर्यो नि । खाली संस्दमा जान्छन् अनि स्वास्थ्य मन्त्रीको वक्तव्य आउँछ । काम चाहिं केही भएको छैन । केही हदसम्म स्थानीयतहले अलिअलि काम गरेका छन् । त्यसले केही राहतजस्तो भएको छ । तर, धेरैजसो स्थानीय निकायमा पनि भद्रगोल छ । धेरै स्थानीय निकायहरुले कोरोना देखाएर भ्रष्टाचार गरिरहेका छन् । के ६ महिनासम्म लकडाउन हुन्छ ? त्यसको वैकल्पिक उपाय हुँदैन ?
अहिलेपनि गुटगत झुन्डमा रमाउने कांग्रेस खाली पेटमा घण्टौं हिँडेर जिल्ला पुग्ने जनताप्रति सिरियस छैन नि ?
अहिले हामीले सरकारलाई सुझाव दिने हो । जनताको सेवा गर्ने हो । पीपीइलगायतका स्वास्थ्य सामाग्री र टेष्टिङ किट मगाउन त हामी सक्दैनौं नि । यो काम सरकारको हो । प्रतिपक्षले त सुझाव मात्रै दिने हो । संसद् चलिरहेको छ त्यहाँ बोल्ने हो । मेकानिजम सरकारले बनाउने हो । स्वास्थ्यकर्मीहरुलाई सरकारले चलाउने हो । त्यसैले यो सरकार पूर्ण रुपमा असफल भइसकेको छ । विगतमा पनि भूकम्पको बेला, बाढीपीडितको बेला पनि त्यस्तै भएको हो ।
कांग्रेसका नेताहरुमा पनि न्यूनतम् मानवीयता पनि देखिएन नि ?
न्यूनतम काम किन गरेको छैन ? ठूलो हृदय राखेर जनताको लागि काम गरिरहेका छौं । उनीहरुको सेवामा जुटिरहेका छौं । जनताकै लागि आवाजहरु उठाइरहेका छौं । सरकारलाई भनिरहेका छौं, ‘जनताको सेवामा दत्तचित्त भएर लाग, झुठ नबोल’ भनेर । तपाईंले पनि देख्नुभएको छ हेर्नुस् त ओम्नी ग्रुपसँग गरेको सम्झौता । परीक्षणको लागि मेसिन नै छैन भन्छन् । धेरै ठाउँका पीसीआर मेसिनहरु त्यसै बसिरहेका छन् । काममा सदुपयोग गर्न सकिरहेको छैन । आरडीटी परीक्षणको कुनै काम छैन । भोलि गएर एकै दिन ५० जना मान्छे मर्ने अवस्था आयो भने कसरी व्यवस्थापन गर्ने । त्यसको तयारी केही छैन ।
सेनाको ब्यारेकमा गाई, भैंसीको दूध बन्द भयो अभैm तपाईंहरु मौन हुनुहुन्छ किन ?
त्यही त मैंले अघिदेखि भनिरहेको छु । यो सरकार पुरै असफल भयो । स्थानीय सरकार पनि असफल भयो । बजेट जसरी पास भयो त्यो पनि २०४७ सालदेखि अहिलेसम्म एउटै खालको बजेट आएको छ । अहिले त विकास, निर्माणका सबै काम छोडेर जनताको ज्यानको सुरक्षामा जुट्नुपर्ने हो । जनता जीवित रहेन सडकमा जान्छ । जनता जीवित रहेन पदमा जान्छ । विश्व अहिले आफ्नो जनता जोगाउन लागेको छ । अहिले उच्चस्तरीय समितिको नाममा, सडकको नाममा जनताको स्वास्थ्यमाथि खेलवाड गरिँदैछ । त्यसैले यो सरकारलाई एक मिनेट पनि पदमा बस्ने नैतिक दायित्व छैन ।
तपाईंहरुले नैतिक दायित्व छैन भनेर हुन्छ र बहुमतको सरकारसँग ?
कोरोना महामारीले त बहुमतको सरकार बुझ्दैन नि । संसद्मा मेरो दुई तिहाई छ, मलाई कसैले हटाउन सक्दैन त्यो महामारीले बुझ्दैन नि । त्यसको लागि काम गर्नुपर्ने होला । काम गर्न क्वारेन्टाइनको राम्रो व्यवस्था हुनुप¥यो । जनताले के भनेका छन् र हामी क्वारेन्टाइनमा १४ दिन बस्न तयार छौं । त्यहाँको स्वास्थ्य खाना, सफा पानी, बस्ने व्यवस्था हुनुपर्छ । भारतबाट आउने मान्छेहरु उताको बोर्डरमा राखिएको छ १४, १५ दिन त्यसपछि फेरि नेपालको क्वारेन्टाइनमा ल्याएर १४, १५ भोकभोकै राखिएको छ । कपिय मान्छे खाना नपाएर भोकले मरेका छन् । त्यसैले यो सरकार जनताप्रति पटक्कै उत्तरादायी छैन । त्यसकारण मैले उसलाई सत्तामा बसिरहने नैतिक अधिकार छैन भनेको हुँ ।-File Photo 



प्रतिक्रिया दिनुहोस्

Screenshot