Logo

लकडाउन झन् कडा भइसक्यो, अत्यावश्यक बाहेकका सवारी चलाए नियन्त्रणमा लिन्छौं-भीम ढकाल, महानगरीय ट्राफिक प्रहरी प्रमुख



काठमाडौं, २७ जेठ । देशमा जताततै लकडाउन उल्लंघन भइरहेको छ । ७७ दिनसम्म लकडाउन हुँदा जनता निकै पीडामा परेका छन् । तर, सरकारले सडकमा पास र अत्यावश्यक कामबाहेकमा सवारी चलाउनेमाथि कडा नीति लिएको छ । यसै सेरोफेरोमा रेडियो एनआरएनका लागि ऋषि धमलाले महानगरी ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालसँग ऋषि धमलाले गरेको कुराकानीः
लकडाउन त खुकुलो भयो नि जनताहरु स्वस्फूर्त रुपमा सडकमा आइरहेका छन् तपाईं कहाँ हुनुहुन्छ ?
हामी पनि सडकमै छौं । लकडाउन खुकुलो भएको भन्ने होइन । मुलुकमा लकडाउन भएको आज ७७ औं दिन हो । यो अवधिमा नागरिकहरु घरघरमा रहने र हामीले नागरिकलाई संक्रमणबाट जोगाउनको लागि सकडमा ड्युटि गर्ने भनिएको छ । त्यो अनुसार नै हामी खटिराखेका छौं । अहिले उल्लंघन भएको भनिएको छ त्यो पनि होइन । जतिपनि पसलवाल गाडीहरु मात्रै गुडेका छन् । ती गाडीहरु नागरिकको अत्यावश्यकीय सामाग्री ढुवानीका लागि गुडेका हुन् ।
हजारौं गाडीहरु सडकमा देखिन्छन् त तपाईंलाई थाहा छैन ?
हो, हजारौं छन् । तर, ती गुडेका गाडी भनेको आधिकारिक गाडी हुन् । आधिकारिक यस अर्थमा कि नागरिकहरुको समस्या समाधान गर्न, उहाँहरुलाई खाद्यन्न, स्वास्थ्य सामाग्री पु¥याउन । अहिले नेपाल सरकारले ४२ वटा सेवाहरु सञ्चालनमा ल्याएको छ । बैंक, वित्तीय संस्थाहरु खुलेका छन् । राहतका कार्यक्रमहरु टोलटोलमा भइराखेका छन् । घरघरमा आवश्यक सामाग्रीहरु ढुवानी गर्ने कामहरु भइराखेको छ । विकास निर्माणका कामहरु भइराखेका छन् । जुन नेपाल सरकारबाट विभिन्न विषयमा निर्णय भएर भएका हुन् । लकडाउनमा बसेका जनतालाई अध्यावक सामाग्री र खाद्यान्न पुर्याउनका लागि यी गाडीहरु चलाइएको हो ।
तपाईंहरुले त काम गरिरहनुभएको छ, तर जनताले लकडाउन छ भन्ने कुरा देखेनन् नि ?
सर्वसाधारणले झट्ट हेर्दा सबै गाडी सडकमा आए । अब लकडाउन उलंघन भयो भन्ने सरसर्ती देखिन्छ । यहाँहरुले के बुझिदिनुपर्यो भने यहाँ पास भएका र सेवा र बस्तुसँग जोडिएका साधनहरु मात्रै चलिरहेका छन् । जो यो मापदण्डभन्दा बाहिर अनावश्यक रुपले गुडिरहेका छन् । तिनलाई हामीले दैनिक रुपमा नियन्त्रणमा लिएका छौं । उपत्यकाभित्र मात्रै दिनको २२, २३ सय गाडी नियन्त्रणमा लिएका छौं । उपत्यकाभित्र चल्ने र बोर्डरबाट आउने के कति गाडीहरुले पास पाएका छन् । कुनले पाएका छैनन् भनेर नाकाहरुमा रात दिन प्रहरी खटेको छ । जुन अत्यावश्यक सामान बोल्ने गाडीहरु तिनलाई सहजीकरण गरिएको छ । सबै गाडी ठप्पै बनाउने हो भने नागरिकहरु के खाएर बस्छन् । यी चलेका गाडी पनि सुरक्षाको ग्रिपमा छन् ।
तपाईंहरुले सकडमा लकडाउनको प्रत्याभूति दिन सक्नुभएन अवज्ञा भयो नि ?
त्यस्तो भएको होइन । यहाँलाई पनि थाहा छ । प्रत्येक जिल्ला प्रशासन कार्यालयबाट पास जारी भएको छ । हरेक मन्त्रालयबाट आफ्ना गतिविधि सञ्चालन गर्नका लागि पास जारी भएका छन् । नेपाल राष्ट्र बैंकबाट सबै बैंक, वित्तीय संस्थाहरुलाई पास जारी भएको छ । यी सबै सेवाहरुबाट पास जारी भएका छन् । त्यो चाहीं नागरिकसँग जोडिएका अत्यावश्यक सामाग्रीमा पर्दछन् । नागरिकका जीवन गुजारासँग जोडिएका बाहेक अरु साधनहरु चलेका छैनन् । अब यहाँ खाद्यसँग, स्वास्थ्यसँग, सुरक्षासँग जोडिएका लाई छुट दिनैपर्यो । फलफूल तरकारीलगायत जति पनि छन् तिनलाई पनि छुट दिनै पर्यो । त्यसैले यसलाई उल्लंघन भयो भनेर बुझ्नु भएन । लकडाउनको एउटा मापदण्ड, प्रोटोकल छ । त्यसको मापदण्ड अनुसार गरिएको छ । नागरिक एकठाउँबाट अर्को ठाउँमा जाने, संसर्ग हुने कुरामा चाही रोक लगाउनुपर्यो । अन्यलाई चलाउनुपर्यो ।
अब तपाईंहरु लकडाउनको मोडालिटी खुकुलो बनाउँदै हुनुहुन्छ ?
त्यो हामीले भन्ने होइन । माथिको कुरा हो । माथिबाट जे निर्णय आउँछ त्यसलाई हामीले कार्यान्वयन गर्ने हो । अहिले एकातिर संक्रमण बढिराखेको छ, अर्कोतर्फ लकडाउनलाई खुकुलो बनाउँदा के हुन्छ भन्ने कुरामा पनि विचार गर्नुपर्ने हुन्छ । तर, जहाँसम्म नागरिकको आवश्यकता जे छन्, त्योसँग जोडेर निर्णय हुन्छ । त्यो निर्णय बमोजिम हामीले त्यसलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ । मेरो उद्देश्य भनेको संक्रमण फैलिनबाट रोक्ने हो । फैलियो भने इटली र अमेरिका जस्तो हुन बेर लाग्दैन । यस्तो भयो भने हामीलाई धान्न गाह्रो हुन्छ । त्यसकारण सबै नागरिकले यो बुझ्न जरुरी छ । जहाँसम्म खुकुलो बनाउने कुरा छ, त्यसमा आधिकारिक ठाउँबाट निर्णय नआइकन ज्यादा हल्लाखल्लातिर लाग्नुहुँदैन भन्ने मलाई लाग्छ ।
हिजो, अस्तिको भन्दा सडकमा गाडीको संख्या बढेको छ नि ?
छैन । यसमा अगिनै तपाईंलाई मैले भनेको छु । अहिले उपत्यकामा २७ ठाउँमा चेक जाँच भइरहेको छ । प्रत्येक चेकपोष्टमा हाम्रो अधिकृतहरुले आफू दर्घटनामा परिपरि पनि खटेर काम गरिरहनुभएको छ । जसको कामको प्रकृति खुलेको पास त्यसलाई छोडिएको छ । जो अनावश्यक त्यसको पास छैन भने रोक्न काम गरिएको छ । नागरिकबाट अनावश्यक भीडभाड नहोस् भन्ने चाहना त्यही अनुसार हामीहरु लागि परेका छौं ।
त्यसोभए आजबाट खुकुलो हुँदैन ?
हुँदैन, आजबाट झन् कडा हुन्छ ।
आजदेखि झन् कडा हुन्छ ?
लकडाउन झन् कडा हुन्छ । मैले तपाईंंसँग बोल्नेभन्दा एकछिन अगाडि सबैतिर ब्रिफिङ गरेको छु । नागरिकलाई सहज हुने गरी एकदमै कडा हुन्छ । कतिपय हल्लाहरुले गर्दा मान्छेहरु ह्वात्त सडकमा आउने स्थिति आएको छ । बेलामा उत्तरचढावहरु भएका छन् । त्यसैले लकडाउन हुनेबित्तिकै एकदमै सुनसान हुन्छ भन्ने सोचाइ लिनुभएन । लामो समयसम्म लकडाउनमा बसेका नागरिकलाई आवश्यक पर्ने सामाग्रीसँग जोडिएका बाहेकका भेइकलहरु दैनिक रुपमा समातेर कारबाही गरिएको छ । त्यसैले आजबाट झन् कडाईं गर्नेगरी एकदमै लाग्नुहोस् भनेर सबैलाई भनेको छु ।-File Photo



प्रतिक्रिया दिनुहोस्