काठमाडौं, जेठ २८ । विद्युत् खपत कम भएर रातको समयमा दैनिक एक करोड मूल्य बराबरको विद्युत् खेर गइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । निजी र प्राधिकरणका विद्युत् आयोजनाले अहिले निरन्तर ९ सय मेगावाट विद्युत् उत्पादन गरिरहेका छन् ।
तर रातको समयमा भने विद्युत् माग ७ देखि ८ सयको हाराहारीमा मात्रै रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘पानी परेका बेला रातको समयमा झन् विद्युत् माग घटेर ४ सय मेगावाट हाराहारीमा झर्छ,’ उनले भने, ‘रातको समयमा औसत १ करोड बराबरको विद्युत् खेर गइरहेको छ ।’
अहिले निजी क्षेत्रका आयोजनाबाट ४ सय ५० मेगावाट र कुलेखानी जलाशययुक्त आयोजना सञ्चालन नगर्दा पनि प्राधिकरणका आयोजनाबाट पनि ४ सय ५० मेगावाट विद्युत् चौबीसै घण्टा उत्पादन भइरहेको छ । निजी क्षेत्रको विद्युत् आयोजनाको जडित क्षमता ७ सय मेगावाट भए पनि पानी कम भएका कारण अहिले ४ सय ५० मेगावाट हाराहारीमा मात्रै उत्पादन भएको घिसिङले बताएको आजको कान्तिपुर दैनिकमा खवर छ ।