काठमाडौँ, २८ जेठ । म्याग्दीको मालिका गाउँपालिकाले कोरोना भाइरस फैलिन नदिन गरिएको बन्दाबन्दीका कारण रोजीरोटी गुमाएकालाई रु ३६ लाख मूल्य बराबरको राहत खाद्यान्न सामग्री वितरण गरेको छ ।
सात वडाका दुई हजार ८६ घरधुरीलाई रु ३६ लाख ८७० मूल्य बराबरको राहत खाद्यान्न वितरण गरिएको गाउँपालिकाले सार्वजनिक गरेको हो । रु ३२ लाख एक हजार ३४५ मूल्यको ५३ हजार ९१० किलोग्राम चामल, रु एक लाख ४१ हजार ६२५ मूल्यको तीन हजार ६०० किलोग्राम दाल वितरण गरिएको गाउँपालिकाका योजना अधिकृत सोमबहादुर केसीले जानकारी दिएका छन् ।
यसैगरी रु ७५ हजार ६०० मूल्यको तीन हजार ६०० किलोग्राम नुन र रु एक लाख ८२ हजार २०० मूल्य बराबरको दुई हजार ३५० लिटर तेल वितरण गरिएको अधिकृत केसीले बताएका छन् । प्रदेश सरकारले बनाएको मापदण्डअनुसार परिवारको सदस्य सङ्ख्याका आधारमा बस्तीबस्तीमा पुगेर राहत उपलब्ध गराइएको हो । कोरोना रोकथाम, नियन्त्रण, व्यवस्थापन तथा राहत वितरणमा अपारदर्शिताको प्रश्न उठिरहेका बेला मालिका गाउँपालिकाले खर्च विवरण सार्वजनिक गरेको हो । जिल्लाका अन्य पाँच स्थानीय तहहरुले भने राहत वितरणमा भएको खर्च विवरण अझै सार्वजनिक गरेका छैनन् ।
यसैबीच म्याग्दीका स्थानीय तहहरुले विदेशमा रहेका नागरिकको विवरण सङ्कलन शुरु गरेका छन् । कोरोनाको जोखिम र बन्दाबन्दीका कारण रोजगारी गुमाएर प्रवासमा समस्यामा परेका नागरिकको उद्धारको तयारी गरेको छ । विदेशमा समस्यामा परेकाको उद्धारकार्यलाई सहज, व्यवस्थित बनाउन वडाका जनप्रतिनिधि र कर्मचारीमार्फत भारत, खाडी र युरोपका देशमा रहेकाहरुको विवरण सङ्कलन शुरु गरेको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले बताएका छन् । (रासस)