काठमाडौ, जेठ २८ । कुनै पनि विवाहित छोरी हुँदाहुँदै सौतेनी छोराले हकवाला अपुताली सम्पत्ति हक लिन नपाइने सर्वोच्च अदालतले ठहर गरेको छ । नवलपरासी रुपौलियाको एक अपुताली सम्पत्ति विवादसम्बन्धी मुद्दामा तत्कालीन पुनरावेदन अदालत बुटवलको फैसला उल्टाउँदै सर्वोच्चले हकवाला छोरी हुने फैसला गरेको हो ।
न्यायाधीश सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुँयालको पूर्ण इजलासले विवाहित हुँदैमा छोरीलाई अपुताली लिन नपाए विभेद हुने ठहराएको हो । सौतेनीतर्फका छोरा हुँदाहुँदै विवाह भएकी छोरीले अपुताली अंश लिन नपाउने कानुन भएको भन्दै जिल्ला र तत्कालीन पुनरावेदन अदालतको निर्णय उल्टी गर्दै अंश दिने फैसला गरेको आजको नागरिक दैनिकमा खवर छ ।