Logo

हलेसीको ककनीडाँडामा ‘रक गार्डेन’



काठमाडौँ, २८ जेठ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीस्थित ककनीडाँडामा ढुङ्गे बगैँचा (रक गार्डेन) निर्माण कार्य शुरु गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी मन्दिर नजिकै पर्ने ककनीडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले ढुङ्गे बगैँचा निर्माण गर्न थालिएको हो । क्रमागत योजनाका रूपमा करिब रु पाँच करोड ५० लाखमा सम्पन्न हुने ‘चुरेडाँडा रक गार्डेन’ निर्माणको आइतबार नगरप्रमुख इवन राई र उपप्रमुख बिमला राईले शिलान्यास गरिएको थियो ।

ककनीडाँडाका करिब १६० रोपनी सरकारी जग्गामा फैलिएको चट्टानै–चट्टानको प्राकृतिक संरचनामध्ये ५६ रोपनी जग्गालाई समेटेर रक गार्डेन बनाइने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ । स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने र नगरपालिकाको आम्दानीको दीर्घकालीन स्रोतका रूपमा विकास गर्न ककनीडाँडालाई रक गार्डेनका रूपमा विकास गर्ने योजना अघि सारिएको नगरप्रमुख राईले बताएका छन् । “यस आर्थिक वर्ष चुरेडाँडा रक गार्डेनको वरिपरि पर्खाल र रेलिङ हालेर घेरा हाल्ने तयारी गरिएको छ”, उनले भने, “अर्को वर्षबाट स्ट्रक्चर र गार्डेनिङको काम शुरु गरिनेछ ।”

रक गार्डेन बनाउन प्राकृतिरूपमा बनेका ककनीडाँडामा रहेका कुनै पनि ढुङ्गालाई नबिगारी सजावटका काम गरिने नगरपालिकाले जनाएको छ । त्रिधार्मिकस्थल हलेसी मन्दिरभन्दा करिब आधा घण्टा पैदल हिँडेर पुगिने ककनीडाँडा सिङ्गो डाँडा खोपेर बनाइएजस्ता चुच्चो–चुच्चो परेका ढुङ्गाले ढाकिएको छ । झट्ट हेर्दा बालुवा सिमेन्टले बनाइएजस्तो देखिने सेतो रङका ढुङ्गाले ढाकिएको ककनीडाँडा वारपार गर्न करिब ३० मिनेटदेखि ४५ मिनेट लाग्छ । मध्यपहाडी लोकमार्गबाट पैदल उकालो करिब ३० मिनेटमा पुग्न सकिने सो स्थानमा स्थानीयवासी घुमफिर र पिकनिक (वनभोज) जाने गरेका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्