एजेन्सी, २८ जेठ । भारत र चीनबीच सैन्य कुटनीतिले यसपटक महत्वपूर्ण भुमिका खेलेको छ । लदाख र सिक्किमको सिमा क्षेत्रमा युद्धको कालो बादल मडारिदै गर्दा दुवै देशका उच्च सैनिक तहमा महत्वपूर्ण वार्ता भयो । परिणामस्वरुप दुवै देशले सिमाबाट सेनालाई पछि हटाए ।
६ जुनमा भारतका लेफटिनेन्ट जनरल हरिन्दर सिंह र चिनियाँ सेनाका मेजर जनरल लिउ लिनबीच लदाख क्षेत्रको चुसुल मोल्डो सिमानाकामा वार्ता भएको थियो । उक्त वार्तालाई भारत र चीन दुवैले सकारात्मक भनेका थिए । लगत्तै दुवै देशले सेना सिमाबाट पछि हटाउन थालेका छन् ।
यसअघि भारत र चीनबीच युद्धको खतरा देखेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यस्थताको प्रस्ताव राखेका थिए । दुवै देशले यसलाई अस्वीकार गरिदिए ।
भारत र चीनबीच सिमा विवाद समाधान र टकरावको अवस्था आउन नदिने सहमति भएपछि त्यसको असर भारतको नेपालसँगको सिमा विवादमा पनि पर्ने देखिएको छ । लिपुलेकबाट भारतले लिंकरोड बनाएपछि नेपालले आपत्ति जनाएको थियो । जसलाई भारतीय सेनापति एम एम नरवाणेले कसैको उक्साहट भनी चीनतर्फ संकेत गरेका थिए । भारतले नेपालसँग वार्ता गर्न नचाहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हिजो संसदमा बोलिसकेका छन् । यसरी भारतले चीनसँग वार्ता गरेर समस्याको समाधान निकाल्न खोजिरहेको बुझाई नेपाली पक्षको समेत देखिएको छ ।-File Photo: Agency