Logo

यो महामारीमा खुल्ला सीमा समस्या हो- योगेश भट्टराई, मन्त्री, पर्यटन तथा नागरिक उडड्यन



काठमाडौं, २८ जेठ । पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले कोरोना भाइरसको संक्रमणको बेलामा मानिसहरु आवतजावत गर्न नहुनेथियो भनेका छन् । महामारीमा भारतसँगको खुला सिमा समस्या बनेको बताएका छन् । उनीसँगग यसै सेरोफेरोमा रेडियो एनआरएनका लागि ऋषि धमलाले गरेको कुराकानीः

सबैको ध्यान तपाईंतिर मोडिएको छ, क्वारेन्टाइनमा किन भद्रगोल भन्नुस् त जनता जान्न चाहन्छन् ?
अहिले क्वारेन्टाइनमा केही समस्याहरु आएको छ । विशेष गरेर नेपालको सीमाबाट आउने संख्याहरु बढेको छ । यो कोरोना भाइरसको सन्दर्भमा कुरा गर्दा मान्छेहरु त्यसरी आवतजावत गर्नुहुँदैन थियो । यस विषयमा भारत सरकारसँग पनि सहमति भएको र हामी दुवैदेश बीच सहमति भएको त अझ जुन नागरिकहरु जहाँ छन् । तिनलाई आफ्नो आफ्नो देशमा ती नागरिकहरुलाई व्यवस्थापन गर्ने भनेर । त्यसमा नेपालीहरुलाई जो भारतमा छन् उनीहरुलाई उही व्यवस्थापन गर्ने र भारतीयहरु जो नेपालमा छन् उनीहरुलाई नेपालमै व्यवस्थापन गर्ने भनेर । विश्वमा धेरै कम मुलुकहरुमा मात्रै यस्तो खुल्ला सीमाको समस्या छ ।
यो महामारीको खुल्ला सीमा अर्को एउटा समस्या हो । तर, पछिल्लो समय केही दिनसम्म ठूलो संख्यामा पछिल्ला दिनमा केही संख्यामा नेपालीहरु भारतीय भूमिबाट नेपालतिर फर्किनुभएको छ । हामीले सकेसम्म भारतीय सीमा नजिक रहेका क्वारेन्टाइनहरुलाई व्यवस्थित गर्ने कोसिस गरिरहेका छौं । एकैचोटी ठूलो संख्यामा आएका हुनाले केही समस्या देखिएको हो । अब केही दिनमा त्यो समस्या हल हुँदै जान्छ । बाहिरबाट आउने नागरिकहरु क्वारेन्टाइनमा बस्नुहुन्छ । त्यहाँ उहाँहरुको स्वास्थ्य परीक्षण हुन्छ । परीक्षणबाट जो संक्रमित ठहरिनुहुन्छ उहाँहरु आइसोलेसनमा जानुपर्छ । जो संक्रमित हुनुहुन्न उहाँहरुलाई आफ्नो ठाउँमा पु¥याएर १४ दिन क्वारेन्टाइनमा राख्नुपर्छ । तर, डब्ल्यूएचओको मापदण्ड के हो भने कुनै पनि संक्रमित मान्छेहरु आवतजाओत गर्नै हुँदैन ।
दिनभरि क्वारेन्टाइनमा अनि रातभरि घरमा सुत्न गएका छन् अनि सरकार के हेरेर बसेको छ ?
त्यहीं भएर अहिले समस्याहरु बढ्दै गएको छ । सबै मुलुकहरुले यसलाई टाइट गर्नुपथ्र्यो, त्यो गर्न सकेनन् । जस्तो भारतकै कुरा गर्दा पनि उहाँहरुले लकडाउनकै बेलामा नेपाल जान चाहनुहुृन्छ भने जानुहोस् भनेर गाडीको व्यवस्था गरेर सीमानासम्म ल्याइदिनुभयो । त्यसले गर्दा अतिकति समस्या थपिएको छ । यसलाई हामीले हल गर्नुपर्छ । हामीले स्थानीय तहलाई क्वारेन्टाइन व्यवस्थापनमा भनेका छौं । सुरक्षा निकायलाई त्यसमा भूमिका खेल्न भनेका छौं । त्यसको लागि आवश्यक पर्दा संघीय सरकारले पनि बजेट दिने भनेका छौं । पछिल्लो समय परीक्षणको दायरा पनि बढाइएको छ । हामीले यो दुई महिनामा एक लाखभन्दा बढी मानिसहरुको पीसीआर परीक्षण गरेका छौं । हिजोका दिनमा यो क्षमता थिएन, आज आएर क्षमता वृद्धि हुँदै गएको छ । अब असार १५ बाट दैनिक दश हजारको परीक्षण हुने हैसियतमा पुग्छौं । संक्रिमितहरुको व्यवस्थापन र क्वारेन्टाइनमा बस्नेहरुलाई घरसम्म पु¥याउने दायित्व सरकारको हो त्यो हामी गर्छौं ।
अहिले संक्रमण पनि देशव्यापी भइसक्यो, मान्छेहरु गाई, भैसीं गोठमा बस्न वाध्यछन् हाम्रो देशको क्वारेन्टाइन भनेको त्यही हो ?
क्वारेन्टाइनहरु गाई, भैंसी गोठलाई बनाइएको छैन । संक्रमितहरु आइसुलेसनमा छन् कि अस्पतालमा छन् । गाई, भैसीं गोठमा छन् भन्नु गलत सूचना हो ।
कतिपयको मृत्युपछि कोरोना टेष्ट गरिएको छ नि ?
यदि मृत्युपछि पनि उसको स्वाब परीक्षण गर्दा कोरोना देखियो भने उसलाई कोरोनाबाट मृत्युभएको भनेर घोषणा गरिन्छ । तर, कोहीपनि संक्रमितहरु अस्पतालभन्दा बाहिर छैनन् । अहिलेसम्म ४ हजार मानिसहरु संक्रमित देखिएका छन् । त्यति आइसुलेसन बेड हामीसँग छन् । अलिहेसम्म ४, ५ सय मान्छेहरु उपचार भएर घर फर्किसकेका पनि छन् । अब हामीले आइसुलेसन बेडहरु थप्नुपर्ने भएको छ । त्यसको लागि कतिपय सार्वजनिक ठाउँलाई प्रयोग गर्नुपर्ने हुन्छ । कनि संक्रमणहरु बढ्दै जाँदा अस्पतालले मात्रै धान्दै त्यसको लागि आइसुलेसन केन्द्रहरु बनाउँदै जानुपर्छ । त्यसको तयारी भइरहेको छ ।
क्वारेन्टाइनमा डाक्टरदेखि सबैखाले सुविधा हुनुपर्दैन ?
क्वारेन्टाइनमा हुँदैनन् । किन भने क्वारेन्टाइन, आइसोलेसन र अस्पताल छुट्टै हुनुपर्छ । क्वारेन्टाइन मुलतः संक्रमण नभएका मान्छेहरु बस्ने ठाउँ हो ।
कतिपय संक्रमण भएका मान्छेहरु पनि क्वारेन्टाइनमा बसिरहेका छन् नि ?
त्यस्ता मान्छेहरुलाई परीक्षण गरेर संक्रमण देखिएकाहरुलाई आइसोलेसनमा लगिन्छ । जे मानिसहरु इण्डियाबाट आएका छन् उनीहरुलाई होल्डिङ प्वाइन्टमा लगिन्छ । त्यहाँ स्वास्थ्य परीक्षण गर्दा जोमा पोजेटिभ देखिन्छ तिनीहरु आइसोलेसनमा जान्छन् । जसलाई नेगेटिभ देखिन्छ उनीहरु क्वारेन्टाइनमा जान्छन् र १४ दिनपछि आफ्नो घरमा जान्छन् । कतिपयलाई हामीले घरमा पनि होम क्वारेन्टाइनमा बस्नुस् भनेका छौं । धेरैजसो मुलुकहरुले जस्तो हाम्रो देशबाट विदेश जानुहुन्छ । उहाँहरुलाई होटलमै क्वारेन्टाइन बनाइएको छ । हाम्रोमा मात्रै सामुदायिक ठाउँलाई क्वारेन्टाइन बनाइएको हो । अरु देशहरुले सम्बन्धित व्यक्तिले पनि होटेलको क्वारेन्टाइन पैसा व्यक्तिले नै तिरेका हुन्छन् । तर, हाम्रो अहिलेसम्म क्वारेन्टाइनको पैसा व्यक्तिलाई तिर्न लगाइएको छैन । त्यसैले अब यसलाई छुट्याउनुपर्छ । जसले पैसा तिर्न सक्छन् उनीहरुलाई होटेलको क्वारेन्टाइनमा लानुपर्छ । जसले तिर्न सक्दैनन् तिनीहरुलाई राज्यले व्यवस्थापन गरेको निःशुल्क क्वारेन्टाइनमा राख्नुपर्छ ।
क्वारेन्टाइनमा सबै कुराको सुविधा हुनुपर्ने होइन ?
हो ।
तर, हामीले तयार गरेका क्वारेन्टाइनहरुमा त छैन नि ?
यदि न्यूनतम आधारभूत सुविधा पनि छैनन् भने थप्दै जानुपर्छ । धेरै जसो ठाउँमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै तयार भएको पाइन्छ ।
तपाईंले देशभरिको हेर्नुभएको छ ?
सबै ठाउँमा त्यस्तो न्यूनतम मापदण्ड पनि नभएको छैन । एकदमै सुविधाजनक क्वारेन्टाइनहरु पनि छन् । केही–केही ठाउँमा अलि असुविधाहरु छन् ।
अब त्यसलाई त्यत्तिकै राख्ने कि गुणस्तरीय बनाउने ?
होइन, ती क्वारेन्टाइनहरुको सुविधाहरु पनि बढाउने । व्यवस्थिति बनाउने, सरसफाइमा ध्यान पनि दिने हो । सुस्थाकर्मी र सुरक्षाकर्मीको पनि व्यवस्थापन गर्ने लगायतका कामहरु भइरहेका छन् । परीक्षण पनि छिट्टै गर्ने र संक्रमित नभएका व्यक्तिहरुलाई छिटोभन्दा छिटो उहाँहरुको गाउँसम्म पु¥याउने हो । त्यो राज्यको जिम्मेवारी हो गरिरहेको छ ।
आइसोलेसनमा बस्नेहरुको लागि भ्यान्टिलेर, एम्बुलेन्सको सुविधा छ अब ?
संक्रमित देखिएर आइसोलेसनमा बसेका मान्छेहरुका लागि औषधि, भ्यान्टिलेटर र एम्बुलेसनको लागि सबै व्यवस्था गरिएको छ ।
तर, कतिपय ठाउँमा नभएका समाचारहरु आइरहेका छन् नि ?
कतिपय सिटीका अस्पतालहरुमा पनि सबै सुविधाहरु छैनन् नि । हिजो भएर आएका बेथितिहरु त आजका दिनमा छिट्टै हल हुँदैनन् नि । हाम्रो नेपालमा मात्रै होइन । सबै मुलुकमा पीसीआरको अभाव छ, सबै ठाउँमा पीपीई, औषधि, किटको अभाव छ नि ।
क्वारेन्टाइनमा बस्नेहरुलाई यातना गृह जस्तो कोचेर राख्नुभएको छ नि ?
त्यस्तो गरिएको छैन । होल्डिङ प्वाइन्टहरुमा अलिअलि असुविधाहरु छन् । यस्तो विषयहरुलाई तपाईं हामी सबै मिलेर समाधान गर्नुपर्छ ।
समाधान कसरी गर्ने त ?
यसको समाधानका लागि स्थानीय सरकारमार्फत संघीय सरकारले बजेटको व्यवस्थापन गर्छ । त्यहाँ आवश्यक उपकरण, फसिलिटीहरु केन्द्र मार्फत उहाँहरुलाई उपलब्ध गराइन्छ । अब विस्तारै भारततिरबाट आउने संख्या पनि घट्दै जान्छ ।
अब कोरोना भाइरसबाट समस्या हुँदैन ?
हुन्छ, आजसम्म दुनियामा ७५ लाख मान्छेहरु संक्रमित भएका छन् । त्यसमा ३५ लाखभन्दा बढी मान्छेहरु निको भएर फर्किएका छन् । साढे चार लाख हाराहारी मान्छेको मृत्यु भएको छ । यदि समस्य नै नभएको भए यो तथ्यांक त आउने थिएन । समस्या भएरै यो तथ्यांक आएको हो । त्यसबाट नेपाल पनि मुक्त छैन ।
नेपालमा त मृत्यु भइसकेपछि मात्रै थाहा भयो नि यो मान्छेको कोरोनाले मृत्यु भयो भनेर ?
एउटा, दुईवटा केसलाई लिएर सिंगो धारणा बनाउनुहुँदैन । एक, दुईवटा केसीमा समस्या हुन सक्छ । त्यसमा असफल पनि हुन सकिन्छ । सबै केसहरु त्यस्ता होइनन् । अहिलेसम्म साढ ५ सय जति मान्छे कोरोना संक्रमित भएर निको भएर घर जानुभयो ती मान्छेलाईं सोध्नुहोस् एकजनाको पनि नेगेटिभ धारणा छैन सरकारप्रति । उनीहरुले हामीलाई राम्रो खान दिए, उपचार पनि भयो । राम्रो गरे भनेर फूलका माला बोकेर घर फर्किएका छन् ।
कपिलवस्तुको अवस्था थाहा छ, मलाई अहिले फोन आएको छ नि ?
सबै थाहा छ तपाईं पनि फोन आएको हामीलाई पनि आएको छ । त्यहाँ अनुगमनहरु टोलीहरु गएका छन् । केन्द्रमा सीसीएमसी छ, जिल्लामा छ, प्रदेशमा छ, स्थानीयमा छ । संयन्त्रहरु खटेका छन् । बाढी आएको जस्तो एकैचोटी समस्या आएकोले सरकारलाई व्यवस्थापन गर्न अलिकति अप्ठ्यारो परेको हो ।
कांग्रेसले कोरोना रोकथापको लागि सरकार असफल भयो भनिसक्यो नि ?
कांग्रेसले त त्यो सरकार असफलल भयो भनेर आजमात्रै भनेको होइन दुई वर्ष अगाडि नै भनिसकेको थियो । कांग्रेसले राजनीतिक गरिरहेको छ नि ।
कोरोना नियन्त्रण गर्न यो सरकार कहाँनेर चुक्यो ?
हामीहरु चुकेकै छैनौं नि । कहाँ चुक्नु, किन चुक्ने ?
मन्त्रीहरुबीचमा समन्वय नै छैन रे नि ?
सबैसँग एकदमै राम्रो समन्वय भएर कामहरु भइरहेका छन् । प्रधानमन्त्रीको लिडरसीप र कमान्डमा सीसीएमसी, केन्द्रीय समिति, प्रदेश र स्थानीय तहदेखि गाउपालिकासम्मका संयन्त्रहरु क्रियाशील छन् । अहिलेको समस्या समाधानका लागि सिंगो राजनीतिक दहरुएकताबद्ध छन् । कोरोनासँग लड्न सबैभन्दा बलियो युनिटी त हामीले पो बनाएका छौं ।
कोरोना नियन्त्रणमा सरकार सफल भयो ?
एकदमै सफल भएको छ । हाम्रो उद्देश्य थियो एकजनामा पनि संक्रमण नहोस् भयो । एकजनाको पनि मृत्यु नहोस् भन्ने थियो भयो । त्यस हिसाबले हेर्ने हो भने असफल भन्ने होला त्यो बेग्लै कुरा हो । हाम्रो देशको साधन स्रात अनुसार कही असफल भएको छैन । यदि कतै कमीमजोरी छन् भने सच्याउन तयार छौं ।
स्थानीय तहत असफल भयो रे नि ?
स्थानीय सरकारको आलोचना गर्न मिल्दैन उहाँहरुले एकदमै राम्रो काम गर्नुभएको छ ।
विदेशमा भएका नेपालीहरुलाई ल्याउन मन्त्रीहरुबीच समन्वय भएन रे नि ?
समन्वयको कही अभाव भएको छैन । समन्वयबाटै ल्याउने कुरा मिलाउँछु । कुनै मन्त्रीहरुसँग कुनै विवाद छैन, सबै मिलेको छ ।
जहाज भाडामा ल्याउन विवाद भएको हो ?
केही विवाद भएको छैन । जहाज भाडामा लिन कस–कसको चासो छ । त्यसमो फाइदा उहाँहरुले लिन पाउनुहुन्छ ।
तपाईंले आफूले इच्छ्याएको मान्छेलाई दिन लाग्नुभयो रे नि ?
मेरो इच्छाको कोही मान्छे छैन । म व्यापारी होइन । जसलाई व्यापार गर्नुछ गरे भयो । म त राजनीति गर्ने मान्छे हो व्यापारी होइन ।
अब बाहिरका मान्छेहरुलाई कहिले ल्याइसक्नुहुन्छ ?
त्यसको सिलसिला सुरु भएको छ । जुन महिनाभरीमा हामी धेरै उडानहरु भर्ने छौं । क्रमशः विदेशमा रहेका नेपालीहरु आउने छन् ।
आन्तरिक उडान चलाउन कत्तिको सम्भव छ ?
आन्तरिक उडानहरु तत्काल चल्दैन । त्यसको निम्ति तयारहरु गर्न बाँकी छ ।
अब लकडाउन खुकुलो हुन्छ हो ?
खुकुलो हुने होइन व्यवस्थापन हुन्छ ।
अब ३२ गतेबाट हाम्रो देशमा लकडाउन हुँदैन ?
अहिले नै त्यो कुरा घोषणा गर्न मिल्दैन । संक्रमितको संख्या, परिस्थिति हेरेर व्यवस्थापन लकडाउन हुन्छ ।
लकडाउन उल्लंघन भयो नि ?
यो लकडाउन कुनै मन्त्री, प्रधानमन्त्रीलाई सजिलोको निम्ति गरिएको होइन । आमनागरिकको स्वास्थ्य सुरक्षाको निम्ति गरिएको हो । यो विश्वमा चलेको नियम हो । लकडाउन नगरेको भए नेपालमा अहिले ५० हजार मान्छे संक्रमित भइसक्ने थिए । लकडाउन नगरेको भए तपाईं र म नै बाँच्ने थियौं थिएनौं । तपाईंको लाश कसले जलाउने थियो मेरो कसले जलाउने थियो ।
त्यसलाई लकडाउनले रोकेको हो ?
त्यो पनि एउटा बच्ने उपाय हो । त्यो उपायले हामीलाई धेरै साथ दिएको छ । हामीलाई मात्रै होइन दुनियाको उपाय नै त्यही हो ।



प्रतिक्रिया दिनुहोस्