Logo

असारको पहिलो हप्ता मनसुन भित्रने, मनसुनमा औसत वर्षा हुने



काठमाडौँ, २८ जेठ। नेपालमा मनसुन केही दिनपछि भित्रिने भएको छ । आज नेपालमा मनसुन भित्रिनुपर्नेमा पाँच दिन ढिलो गरी भित्रिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन भित्रिनका वातावरण बनिनसकेकाले अझै पाँच दिन लाग्ने सम्भावना रहेको हो । नेपालमा मनसुन भित्रिनका लागि पानी पर्ने गतिविधि बढ्नाका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरी न्यून चापीय रेखा बन्नुपर्छ । “यी प्रणालीहरु विकसित हुने क्रमै रहेकाले मनसुन केही दिन ढिलो भित्रिने सम्भावना रहेको हो”, मौसमविद् कँडेलले गोरखापत्रसँग भनिन्।

यसका साथै मनसुन प्रवेश गर्नका लागि मनसुनी हावा वायुमण्डलको तल्लो सतहदेखि माथिलो सतहसम्म रही त्यसको प्रवेश राम्रोसँग देखिन न्यून चापीय रेखा स्पष्टसँग देखिनुपर्ने हुन्छ र न्यून चापीय क्षेत्रको विकास भएर न्यून चापीय रेखा नेपालतिर परेको हुनुपर्छ । गत वर्ष पनि १० दिन ढिलो अर्थात् २० जुनमा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो ।

मनसुनमा औसत वर्षा हुने

यसैगरी, मनसुन ढिलो भित्रिए पनि मुलुकभर मनसुनको समयमा औसत वर्षा हुने भएको छ । दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ ले हालै नेपालसहित समग्र दक्षिण एशियाको मनसुन विश्लेषण गर्दा मनसुनमा मुलुकभर औसत वर्षा हुने प्रक्षेपण गरेको छ । अङ्ग्रजी महिनाको जुन, जुलाई, अगष्ट र सेप्टेम्बरमा नेपालसहित दक्षिण एशियाका लागि मनसुन अवधि मानिन्छ । सो चार महिनाको अवधिमा नेपालमा वार्षिक वर्षाको ८० प्रतिशतको हाराहारीमा पानी पर्ने गर्छ । मनसुन अवधिमा मुलुकको औसत वर्षाको मात्र एक हजार ४९६ दशमलव सात मिलिमिटर र काठमाडौँको वार्षिक औसत वर्षा एक हजार ४५४ दशमलव आठ मिलिमिटर हो ।- गोरखापत्रको सहयोगमा



प्रतिक्रिया दिनुहोस्