काठमाडौं, २८ जेठ । सरकारले लकडाउन खुकुलो बनाउँदै लाने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले मोडालिटी बनाएर लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।
नयाँ मोडालिटी अनुसार कोरोना भाइरसको रोकथामका लागि निश्चित नियम पालना गरी सवारी सञ्चालन गर्न अनुमति दिने मोडालिटिबारे निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् । जोर बिजोर प्रणाली लागु गरी जोर अंकको गाडी जोर गते र बिजोर अंकको गाडी बिजोर गते सञ्चालनको अनुमति दिने निर्णय भएको छ । यो भोलि देखि नै लागु हुनेछ ।
सार्वजनिक यातायात भने केही हप्तापछि सञ्चालनको अनुमति दिने तय भएको छ । यसका लागि पनि निश्चित मापदण्ड तोकिएको छ ।
भोलिबाट लागु हुने गरी निश्चित नियम पालना गरी पसल खोल्न अनुमति दिने निर्णय भएको छ । व्यापारीहरुले पसल व्यवसाय सञ्चालनको माग गर्दै आएका थिए ।
विकास निर्माणका कार्य पनि अगाडि बढाउन दिइने निर्णय भएको छ । अब बाटोलगायत भौतिक पूर्वाधार निर्माण अगाडि बढाइनेछ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो बनाउन मन्त्रिपरिषदले निर्णय गर्ने जानकारी दिएका थिए । सरकारलाई लकडाउन खुकुलो गर्न चौतर्फी दबाब परेको थियो ।