काठमाडौं, २९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान प्रधानमन्त्ती केपी शर्मा ओलीले भ्रष्टाचार भएको छैन भनेर भनेको हो भने ओली नै भ्रष्टाचारको संरक्षक भएको आरोप लगाएका छन् । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले महामारीको बेलामा भ्रष्टाचार गर्नु भनेको त अक्षम्य अपराध भएको टिप्पणी गरे । उनले भने, अहिलेको यस्तो बेलामा पनि यो सरकार भ्रष्टाचार गरिरहेको छ । हामीलाई सबैभन्दा बढि चित्त दुखाएको र असन्तुष्ट बनाएको यो भ्रष्टाचार काण्ड हो । कम्युनिष्टले जहाँ जहाँ जितेका छन्, सबै ठाउँमा पक्षपात भैरहेको छ । यो सरकारको अर्को बदमासी हो । पक्षपातको पनि हामीले विरोध गरेका छौं । भ्रष्टाचारको पनि हामीले विरोध गरेका छौं । यसको छानबिन हुनुपर्छ भनेर हामीले भनेका छौं ।’ उनले आफूहरुले बोल्दै जाने र सरकारले नराम्रो काम गर्दै जाने हो भने कांग्रेसले यो भन्दा कडा कदम चाल्ने पनि चेतावनी दिए ।