Logo

प्रदर्शनकारी बढ्न थालेपछि सरकार कडा रणनीति बनाउँदै



काठमाडौं, ३० जेठ । लकडाउन यसै पनि कष्टप्रद भयो । त्योभन्दा बढी सर्वसाधारणका लागि लकडाउन खुकुलो पारेपछिको अवस्था बन्दैछ । आर्थिक संकट र रोजगारी गुमेपछि लाखौं मानिसहरु समस्यामा परेका छन् । उनीहरुको असन्तुष्टि सरकारप्रति बढेको छ । त्यसैले दिनानुदिन सडकमा प्रदर्शमा आउने क्रम बढेको छ ।

असन्तुष्टहरु सडकमा प्रदर्शनका लागि आउन थालेपछि आज उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले कोभिड १९ नियन्त्रण तथा रोकथामसम्बन्धी उच्चस्तरीय संयन्त्रको बैठक डाकेका छन् । बैठकमा लकडाउन खुकुलो पारेपछिको परिस्थितिको समिक्षा गरी रणनीति तयार गरिने बताइएको छ ।

आज संयन्त्रमा सडक प्रदर्शन हुन नदिने रणनीति तय गरिने बुझिएको छ । प्रदर्शनले कोभिड १९ झन् फैलन भन्दै सरकार गम्भीर भएको छ । यसका लागि कडा कदम सम्म चाल्ने गरी तयारी गरिएको छ ।

यसअघि हिजो सरकारले लकडाउन उल्लंघन गरी विरोध प्रदर्शनमा सहभागी हुनेलाई छ महिनासम्म थुनामा राख्ने चेतावनी दिएको थियो । गृह मन्त्रायले प्रेस विज्ञप्तिमार्फत लकडाउन विपरित क्रियाकलाप गरी जुलुस प्रदर्शन, धर्ना जस्ता क्रियाकलापमा सहभागी हुनेलाई उक्त चेतावनी दिएको थियो ।

गृह मन्त्रालयद्वारा साँझ जारी विज्ञप्तिमा भनिएको थियो, ‘लकडाउन आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को सजाय अन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रु १०० देखि ६०० सम्म जरिवाना र १ महिना देखि ६ महिनासम्म थुनामा राख्ने गरी कारबाही गर्न गक्ने स्मरण गराइन्छ ।’ गृहले कुनै पनि बहानामा जुलुस तथा धर्नामा संलग्न नगराउन र नहुन भनेको छ । यदि भएमा कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।

गृहको चेतावनीका बाबजुद मानिसहरु प्रदर्शनमा आउन छाडेका छैनन् । भोलि शनिबार झ्न ठुलो प्रदर्शनको तयारी भएको छ । यसतर्फ सरकार गम्भीर भएर कडा कदम चाल्ने तयारी भएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्