काठमाडौं, ३० जेठ । नेपाली काँग्रेसका प्रभावशाली डा. शेखर कोइराला सरकारले स्वास्थ्य सामाग्री खरिद गर्दा भ्रष्टाचारको गन्ध आएको बताउँछन् । यसविरुद्ध युवाहरु स्वतस्फुर्त सडकमा आएको उनको भनाई । युवाको विरोधलाई जायज भन्दै लकडाउन अवज्ञा गर्ने वाध्यता भएको बताएका छन् । यसै विषयमा डा. कोइरालासँग ऋषि धमलाले गरेको कुराकानीः
युवाहरु सडकमा उत्रिएर प्रधानमन्त्रीको कार्यशैलीको विरोध गर्दा तपाईंहरु कहाँ हुनुहुन्छ ?
नेपाली कांग्रेस त्यसै सुतेर त बसेको छैन । तर, सुरुमा अलिकति सुसुप्त भयो । अहिले आएर चहलपहल बढाएको छ ।
लकडाउनको तीन महिना बित्दा पनि तपाईंहरुले केही गर्न सक्नुभएन नि ?
अहिले युवाहरुले भन्नु अगाडि नै हामीले पीसीआर बाहेक अर्को डाइग्नोक्सिस हुँदैन भनेको हो । म आफूपनि डाक्टर भएकाले पटक–पटक मन्त्रीहरुलाई भनेकै हो । स्वास्थ्य मन्त्रालयलाई पनि तपाईंहरुको मिडियामार्फत भनेको हो । मैले मात्रै नभएर सबै स्वास्थ्यसम्बन्धी विज्ञहरुले यो राखेका थिए । लकडाउन त सरकारले पीसीआर, आरडिटी र क्वारेन्टाइनका नममा भ्रष्टाचार गर्न लगाको रहेछ । अहिले फेरि विदेशमा रहेका नेपालीलाई प्लेन चाटर्ड गरेर ल्याउन भनेको छ । त्यसमा कहाँबाट कसरी भ्रष्टाचार गर्ने भन्ने गन्ध आइराखेको छ । राहतमा र स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचारको गन्ध आइरहेको छ भन्ने कुरा अब घामजस्तै छर्लङ्ग भइसक्यो । तपाईंकै रेडियोबाट सुनेको मन्त्री भ्रष्टाचार भएकै छैन भन्नुहुन्छ । प्रधानमन्त्रीले १० अर्ब खर्च देखाउनुभएको छ । उहाँहरुले नै संसद र मन्त्रिपरिषद् बसेर डब्ल्यूएचओको मान्यता अनुसार एकजना संक्रमित बराबर ७ लाख रुपैयाँ खर्च भनेको हो । त्यो खर्च देखाउँदा २ हजार ५ सय हाराहारी संक्रमित अहिले त ४ हजार नाघिसके । २ हजार ५ सय संक्रमित हुँदा सरकारका स्वास्थ्य मन्त्रीले रोस्टममा उभिएर १० अर्ब रुपैयाँ खर्च भयो भनिसकेपछि एकजना संक्रमितमा कति खर्च भयो होला ?
नेपाली कांग्रेस त अहिले सरकारविरुद्ध होइन सफल बनाउन लागिरहेको देखियो नि ?
नेपाली कांग्रेस कसरी सरकारलाई सफल बनाउ खोज्दै छ । कसैले सुरु–सुरुमा बोले होलान् । हामीले बोलेका कुराहरु मिडियामा दिनुहोस् । हुँदाहुँदा अहिले सेनाले जसरी सामान ल्याएको छ । माक्स, पीपीईलगायका सामानमा जति लफडा गरेको त्यसको कुनै सिमै छैन ।
अहिले भ्रष्टाचार कहाँकहाँ भएको छ, अब कांग्रेसले के गर्छ ?
भ्रष्टाचार भएको कुरा अघि नै बताइसकेको छु । स्वास्थ्य सामाग्री, राहत, क्वारेन्टाइन सबैमा भ्रष्टाचार भएको छ । अब हुँदा–हुँदा मलेसियाबाट मजदूर ल्याउने, उनीहरुबाट प्रतिव्यक्ति ८० लिने भनिएको छ । कहाँबाट दिन्छन् तिनीहरुले ? कस्तो हालतमा छन् तिनीहरु ? नागरिकलाई त्यति सुविधा पनि दिन नसक्ने र जवाफदेहिता, उत्तरदायी र पारदर्शीता नहुने व्यक्ति सरकारमा नबसे हुन्छ । नागरिकलाई सानोभन्दा सानो कुरा पनि दिन नसक्ने हो भने के को लागि सरकार हो ।
प्रधानमन्त्रीले त रोस्टमै उभिएर भन्नुभयो नि ?
प्रधानमन्त्रीजीको एउटा रटान सुन्दै मलाई हाँस उठ्छ । उहाँ भन्नुहुन्छ, ‘म भ्रष्टाचार गर्दिन, र अरुलाई पनि गर्न दिन्न ।’ भनेपछि यहाँ भ्रष्टाचारका कुरा बग्रेल्ति आइसक्यो । यो सरकार त भ्रष्टाचारको दलदलमा फसिसक्यो अब के बाँकी छ ? उहाँको कुरा सुन्दासुन्दा नेपाली जनताको कान पाकिसक्यो । त्यसैले युवाहरु सडकमा आएका हुन् । म त ती युवाहरुलाई धन्यवाद दिन्छु । यस्तो विषम परिस्थिति छ, जब कि ३ फिटको दुरी कायम गर्नुपर्ने बेला छ । त्यस्तोमा पनि किन आए त ? भनेपछि हामीहरुले कर तिरेको पैसाले यो देश चल्दैछ । त्यो पैसा सरकारमा बस्नेहरुले भ्रष्टाचार गरे भनेर देखाएको हो नि ।
सडकमा आउने युवाहरुले भनिसके नि ‘सरकार कि जाग, कि भाग भनेर ?
अब यो सरकार जाग्दैन भन्ने कुरा प्रधानमन्त्रीको अभिव्यक्तिबाटै थाहा भइसक्यो ।
कहाँ गयो १० अर्ब रुपैयाँ जनताले खोजे नि ?
त्यही त मैंले तपाईंलाई भनिदिएँ त । साढे ६ अर्ब रुपैयाँ सघीय सरकारले, डेढ अर्ब प्रदेशले र साढे दुई अर्ब रुपैयाँ स्थानीय तहले खर्च गरे भनेको छ । सुरु स्थानीय तहले राहतमा जसरी खर्च गरेको छ । त्यो राम्रो गरेको हो, त्यसमा म सहमत छु । तर, सरकार त भ्रष्टाचारको चाङमा उभिएको छ । त्यसमा कुनै शंका छैन । त्यसबारेमा प्रधानमन्त्रीले, मन्त्रीले बोल्नुभयो भनेर डिफेन्स गरेर काम छैन ।
प्रधानमन्त्रीले त १० अर्बको हिसाब नखोज्नुस् अहिले त कोरोनाको चिन्ता गर्नुहोस् भन्नुभयो नि ?
हिसाबकिताब नहोस् भन्ने प्रधानमन्त्रीजी भ्रष्टाचारको चाङमा उभिनुभएको छ । अनि उहाँले त त्यो कुरा भन्नैप¥यो नि । अब हुँदाहुँदा सेनाले ल्याएको सामानमा पनि भ्रष्टाचार भयो । योभन्दा दूर्भाग्य केही हुनसक्छ यो देशमा । अहिले युवाहरुले आरडिटी ओइन, पीसीआर भनेका छन् । हामीहरुले पहिलो दिनदेखि भनिरहेका छौं पीसीआर गर्नुपर्छ भनेर । अहिले सरकारले भनेको छ, असर १५ गतेदेखि दिनको १० हजारका दरले पीसीआर गर्छौं । यहाँ प्रधानमन्त्रीदेखि मन्त्रीहरुले जे–जे बोलिरहेका छन् । तपाईंको रेडियोमार्फत भन्न चाहन्छु । उहाँहरुले सबै झुठ बोलिरहनुभएको छ । प्रधानमन्त्रीजीले बोलेका कुरामा एउटा पनि सत्यता छैन ।
नेपाली कांग्रेसका सांसदहरुले संसद्मा किन विरोध गरेनन् त ?
त्यो कुरा त सांसद्हरुलाई सोध्नुस् न मलाई किन सोध्नुहुन्छ ? म त सांसद् होइन । नेपाली कांग्रेसका सभापतिजीलाई सोध्नुस् यो कुरा । मलाई नसोध्नुस् । तर, हामीहरुले भनेका कुराहरु सरकारले गरिरखेको छैन । नेपाली कांग्रेसका हामीजस्ताले बोलिराखेका छौं ।
युवाहरुले सडकमा विरोध गरेपछि गृहमन्त्रालयले नारा, जुलुस गर्नेलाई कारबाही गर्ने भनेको छ नि ?
अधिनायकवादी सरकारमा यही त हुन्छ, अरु हुन्छ के ? ती युवाहरुलाई म आग्रह गर्दछु ‘गृहमन्त्रालय दिएको आदेशलाई तपाईंहरु नमान्नुस, । ती युवाहरु जसले भ्रष्टाचार गरेको छ भनेर शान्तिपूर्ण जुलुस गर्दा डन्डा हान्ने, पानीको फोहोरा हान्ने ? खुट्टा भाँच्ने ? ती कामहरु नगर्नुहोस् भनेर म प्रहरीहरुलाई बिनम्र आग्रह गर्न चाहन्छु । यस्ता विषयमा गृहमन्त्रालयले भनेका कुराहरुलाई अवज्ञा गर्नुहोस् अनि मात्रै तपाईंहरु असल पुलिस बन्न सक्नुहुन्छ । देशमा कुनै–कुनै बेला यस्तो आउँछ जुन बेला पुलिसले अवज्ञा गर्न सक्नुपर्छ ।
तर गृहमन्त्रालयले त आन्दोलन गर्नेलाई जरिवानासहित ६ महिना जेल हाल्ने भनेको नि ?
हिजो राजाको शासनकालमा पनि यो कुराहरु भनिन्थ्यो । तर, मान्छे जेल जान डराउँदैनन् । अहिले भ्रष्टाचार भयो भन्ने कुरा आएको छ भएकै हो । ती युवाहरुले क्वारेन्टाइन पुरै व्यथितिमा छन्, परीक्षण पीसीआरबाट गर भन्दै छन् । त्यो जाहेज माग हो । जाहेज माग लिएर सडकमा जाँदा पुलिसले डन्डा हाल्छन् भने भोलि अझै धेरै मान्छे जम्मा हुन्छन् । पहिला प्रधानमन्त्रीजीले देख्नुभएको छैन ? रामबहादुर बादलजीले देख्नुभएको छैन । किन भने उहाँ त त्यतिबेला जंगलमै हुनुहुन्थ्यो । अहिले गृहमन्त्री हुनुहुन्छ । त्यतिबेला जंगलमै बस्नुभएको थियो । आरामले बस्नुभयो होला । अथवा भारततिर हुनुहुन्थ्यो होला । प्रधानमन्त्रीजीले देख्नुभएको छ नि कसरी सडकमा मान्छे उत्रिन्छन् भन्ने कुरा । ती सडकमा उत्रिने युवाहरुले प्रहरीको डन्डा, अश्रुँग्याँसको प्रवाह गर्दैनन् । त्यही भएर आजदेखि आन्दोलनकारीलाई डान्डा हान्ने, अश्रुग्याँस हान्ने र पानीको फोहोरा हान्ने काम बन्द गर्नुस् भन्दैछु ।
तर, प्रहरीले सरकारको निर्णय मान्छ नि तपाईंको त मान्दैन ?
होइन, मान्छ कि मान्दैन हेरौं न । जनता सडकमा आइसकेपछि केही गर्न सक्दैन ।
लकडाउन उल्लंघन गर्नेलाई संक्रमण ऐन लगाएर कारबाही गर्ने भनेको छ नि ?
लकडाउन अन्तर्गत यो गर्ने अधिकार सरकारलाई छ, म छैन भन्दिन । तर, अवज्ञा गर्ने अधिकार पनि जनताले राखेको हुन्छ । अहिले गृहमन्त्री र यो सरकार कुन दुनियाँमा छ ?
एक महिनादेखि ६ महिनासम्म थुनामा राख्ने अधिकार छ ?
हामीले पनि आन्दोलन गरेको हो । अहिलेका युवाहरु आक्रोशित मुडमा आएका छन् । त्यसैगरी भोलि जनता सकडमा आएभने केही पनि गर्न सक्दैनन् । प्रहरीहरु चुपचाप हेरेर बस्छन् । हिजो सेनाले हेरेको होइन ? हिजो लाखौंलाख जनता सडमा आएको कुरा तपाईंहरुले कतिचाँडो बिर्सिएको ?
ती युवाहरु सडकमा आउँदा कांग्रेसको ऐक्यवद्धता रह्यो, अब कांग्रेस सडकमा गएर यो सरकार ढाल्न खोजेको हो ?
यो सरकार यसरी ढल्ने होइन । हाम्रो पोजिसन संसद्बाट बनाउने हो । हामी संसदीय व्यवस्थालाई विश्वास गर्दछौं । संसदीय व्यवस्थामा विश्वास गर्ने पाटीले हाम्रो संसद्मा संख्या नै छैन । अनि हामीले किन सरकार ढाल्ने ? फेरि हामीले सरकार ढाल्न खोजेका पनि छैनौं । सरकार सच्चियोस् त भन्नुप¥यो नि । गलत कामबाट अब पनि नसच्चिने ? प्रधानमन्त्रीका यस्तै ढाँचा र अभिव्यक्ति हाइरहने हो भने अब जनताले सुन्नेवाला छैनन् ।
युवाहरुले त यो सरकारले काम गर्न सकेन त्यसैले सत्ता छोड्नुपर्छ भनेनि त ?
युवाहरुले त त्यो खोज्छन् त । क्वारेन्टाइनहरु पुरै अव्यवस्थिति छन् । अब विदेशबाट आउनेलाई होटेलमा राख्ने रे । उनीहरुसँग एक हजारदेखि ५ हजारसम्म खर्च लिने रे । अनि उनीहरुलाई घर पु¥याउन पनि पैसा लिने रे । अनि हिजो चिनबाट आएकाहरुसँग पैसा लिनुपर्दैन ? उनीहरुलाई चाहीं फ्रिरी गिरिदिने ? कि सबैलाई फ्री हुनुप¥यो कि सबैसँग पैसा लिनुपर्यो । अनि मलेसियाबाट आउने व्यक्तिलाई प्रतिव्यक्ति ८० हजार लिने ? यो सरकारले के गर्न थालेको ? नागरिकको लागि यस्तो गलत कुरा गर्नुहुन्छ भने कहाँ जान्छ सरकार ? पर्यटन मन्त्रालयमा भ्रष्टाचार भएको रहेछ चार्टर्ड फ्लाइटहरु लिँदा । सामान खरिदमा भ्रष्टाचार भएको छ । कमसल सामान ल्याइएको छ । अनि व्यापारीलाई कर तिर भनेको छ । कसरी तिर्छ ? तीनतीन महिना लकडाउन भएको कर तिर्छ व्यापारीले ।
अर्थमन्त्रीले त तिनैपर्छ भन्नुभयो नि ?
अर्थमन्त्रीले तिरेर देखाउनुहोस् । कसरी तिर्नुहुँदोरहेछ, कहाँबाट पैसा ल्याउनुहुन्छ हामी पनि हेर्छौ । व्यवसाय गरेको छ भने । कसरी तिर्छन् तपाईं तिर्नुहुन्छ ? कुनै पनि मिडियाले तीन महिनाको कर तिर्न सक्छ ? हो, त्यसैले सुप्रिम कोर्डले पुरै लकडाउन खुलेको एक महिनापछि कर तिर्नु भनेको छ । त्यो ठीक निर्णय हो । सरकारमा बस्नेहरुले घुस खान, भ्रष्टाचार गर्ने अनि जनतालाई कर तिर भन्ने ?
अब तपाईंहरु पनि सडकमा जाने हो त ?
मैले कहाँ सडकमा जाने भनेको छु ?
आज नेपाली जनतालाई बताइदिनुस् न ?
नेपाली कांग्रेसको छलफल भएर रणनीति बन्छ अनि बताउने हो ।
नेपाली कांग्रेसको रणनीति के हुन्छ ?
हामी पार्टीमा बसेर छलफल गर्छौं । अनि अरणनीति बन्छ, त्यसपछि अगाडि जान्छौं ।
त्यसोभए कांग्रेस सरकार ढाल्न भित्रभित्रै लाग्यो भन्दा हुन्छ ?
होइन, नेपाली कांग्रेस किन सरकार ढाल्नतिर लाग्छ ? सरकार ढाल्ने त पार्लियामेन्टले हो नि । उहाँहरुको झन्डैझन्डै दुई तिहाई बहुमत अनि कांग्रेसले कसरी ढाल्छ ।
अब सीमाविवाद कसरी समाधान होला ?
सिमा विवाद समाधानका लागि वार्ताबाहेक अर्को उपाय देखिँदैन । वार्ता, वार्ता र वार्ता । अब संविधान संशोधनपछि वार्ता गर्नुपर्छ । भारतले कोभिडपछि भनेको छ । त्यो पर्खिनुपनि पर्दैन होला किन भने भर्चुअल वार्ता पनि हुन सक्छ ।
तर, भारत त वार्ता गर्न तयार छैन ?
छैन । तर, एउटा कुरा बुझ्न जरुरी छ । यो देशमा अल्ट्रा राइटिष्ट र लेफ्टिष्टहरु छन् । नेपाली कांग्रेस एउटा ठूलो, जिम्मेवार र पुरानो पार्टी हो । त्यसैले नेपाली कांग्रेसले पनि भारतलाई वार्ता गरेर भनेर कुरा गर्नुपर्यो । त्यसको नेतृत्व नेपाली कांग्रेसका पभापतिले लिनुपर्छ भन्ने हाम्रो मान्यता हो ।
त्यसोभए शेरबहादुर देउवाले भारतसँग वार्ता गर्न तयार हुनुपर्यो ?
होइन, हाम्रा सभापति शेरबहादुरजीले वार्ताको वातावरण बनाइदिने त्यसपछि गर्ने त सरकारले नै हो ।
शेरबहादुर देउवालाई भारतले विश्वास गर्छ ?
तर, यसमा विश्वास गर्ने नगर्ने कुरा भएन । नेपाली कांग्रेस त एउटा ठूलो, जिम्मेवार र पुरानो पार्टी हो । फेरि हामीहरुको अहिलेको सम्बन्ध होइन भारतसितको । मैले यहाँ भारत सरकारसितको कुरा गरेको होइन । त्यसकारण उहाँले वार्ता गर भनेर सम्झाउनुभयो भने किन हुँदैन ?
प्रधानमन्त्रीलाई त विश्वास गरेको छैन, अनि शेरबहादुर देउवालाई किन भारतले विश्वास गर्छ ?
ठूलो, जिम्मेवार र पुरानो पार्टी भएको नाताले नेपाली कांग्रेसले वार्ताको पहल गर्नुपर्छ । फेरि वार्ता त सरकारसँगै हुन्छ । कुन स्तरमा गर्ने हो, वार्ताबाहेक अर्को उपाय छैन ।
अहिलेको अवस्थामा एमसीसी पारित हुनुपर्छ भनेर कांग्रेस किन लागिरहेको छ ?
यसमा मेरो आफ्नै विचार छ । एमसीसी शेरबहादुरजी प्रधानमन्त्री हुँदा एग्रिमेन्ट भएको हो । त्यसकारण उहाँलाई त्यसको भित्री धेरै कुरा थाहा छ, हामीहरुलाई थाहा छैन । किन केन्द्रीय कमिटिमा छलफल भएको छैन । नेपाली कांग्रेसले भन्नुपर्ने के हो भने, ‘तपाईंहरु संसद्मा पेश गर्नुहोस् नेपाली कांग्रेस भोट हाल्छ, र त्यसलाई पास गर्छ ।’ त्यसमा नेपाली कांग्रेसको जिम्मेवारी भोट हाल्ने हो ।
तर, भीम रावलले त राष्ट्रघात हो भनेर धेरै पटक भन्नुभयो नि ?
उहाँले भन्नुभएको मैले पनि सुनेको छु । त्यसको लागि तपाईं छलफल चलाउनुस् । भीम रावलजी र हाम्रै नेताहरु हुनुहुन्छ, डा. रामशरण महत, अर्थविद् स्वर्णिम वाग्ले, झलनाथ खनालजी अथवा अरु जो केही हुनुहुन्छ । उहाँहरु बसेर सौहार्दपूर्ण वातावरणमा भर्चुअल डाइलग गरेपनि हुन्छ । नभए टेलिभिजनबाटै छलफल चलाउँदा पनि हुन्छ । अनि के हो भनेर जनताले बुझ्छन् नि । तपाईंहरु टेबुलमा ल्याउनुहोस् नेपाली कांग्रेसले भोट हालेर पास गर्छ । हामीसँग आशंका गरिरहनुपर्ने कारण नै छैन ।
प्रेस काउन्सिल नेपालले सरकारीलाई बलियो बनाउने र निजी मिडियालाई खुम्च्याउने गरी प्रतिवेदन ल्याएको छ नि ?
यो सरकारले त्यस्तो विधेयक ल्याउनु त्यति अचम्मको कुरा होइन । अझ अरु धेरै विधेयकहरु आउँदैछन् । ती आइसकेपछि तपाईंंहरु यसरी बोल्न पनि सक्नुहुन्न ।
सरकार निजी मिडियामाथि किन खनियो ?
सरकार अभिव्यक्ति स्वातन्त्रतामाथि नै हनन् गर्न थालिसकेको छ । अनि मिडियालाई प्रोत्साहन गर्छ त । यो सरकारले निजी मिडियालाई त समाप्तै गर्छ नि । त्यसैले त अधिनायकवाद र निरंकुशतातिर सरकार गइसक्यो भनिएको हो । त्यसै त भनेको होइन नि । वाक स्वतन्त्रताविरुद्ध गइसक्यो । हिजो के गरेका थिए र ती युवाहरुले प्लेकार्ड लिएर बसेका थिए नि ।
जम्मा १ सय ७६ जनाको मत सर्वेक्षण गरेर प्रतिवेदन सार्वजनिक गरियो नि ?
अहिले प्रेस काउन्सिलमा को छ ? कुन दलको मान्छे छ ? सरकारकै हुनेभयो फेरि प्रेस काउन्सिलका मानिसहरु पनि त्यस्तै छन् । सरकारले जे भन्यो त्यही गर्छन् उनीहरु नै स्वतन्त्र छैनन् । हामी प्रेसलाई स्वतन्त्र बनाउन चाहन्छौं । स्वतन्त्र बनाउन निजी मिडियाहरुलाई प्रोत्साहन सरकारले गर्नुपर्छ । त्यो बनाउन सरकार चाहँदैन किन भने ऊ निरंकुशता र अधिनायकवादतिर गइरहेको छ । त्यसकारण प्रेस काउन्सिलले त्यो निकालेको हो भने जनता र तपाईंहरुले विरोध गर्नुहुन्छ । त्यही कुराको त हामीले विरोध गरिरखेका छौं ।
गोकुल बाँस्कोटाले सरकारले ठीक गर्यो भन्नुभयो नि ?
उहाँले त ओलीजीले जे भन्नुहुन्छ त्यही भन्नुहुन्छ ? त्यसैले उहाँका कुरा मलाई सुन्नु छैन ।