जेठ ३०, काठमाण्डौ । पछिल्ला दिनमा सरकारविरोधी आवाज बढ्दै गएको छ । सरकारले कोरोना रोकथामका नाममा सकेको भनिएको १० अर्बको हिसाव किताव माग्दै जनता सडकमा उत्रिएका छन् । कोरोनाको आरडीटि विधिको परिक्षण रोकेर पिसिआर विधि मात्रै गर्न माग गरिरहेका छन् । तर सरकारले यि मागलाई गम्भीरतापूर्वक लिएको छैन ।
कोभिड–१९ रोकथाम र जाँचमा ढिलासुस्ती गरेको, सरकारी खर्च पारदर्शी नभएको भन्दै शुक्रबार पनि युवाहरूले सरकार विरोधी प्रदर्शन जारी राखेका छन् । मुलुक लकडाउनमा हुँदा पनि कतिबेला करका कुरा त कतिबेला १० अर्बको अनियमितता सुनेका आम नागरिक स्वस्फुर्त रुपमा सडकमा आएका हुन । बालुवाटारदेखि बिराटनगरसम्म, पोखरादेखि वीरगञ्जसम्मका ३० बढि सहरमा बिहीबार र शुक्रबार सरकारविरोधी प्रदर्शन भइरहेका छन् । ्प्रदर्शनमा उत्रिएकाहरुले १० अर्बको हिसाबदेखि पिसिआर परिक्षणसम्मको माग लेखिएका प्लेकार्ड बोकेका थिए ।
शुक्रबार भएका विभिन्न प्रदर्शनहरु शान्तिपूर्ण भए पनि बिहीवार भने प्रहरीले पानीको फोहोरा र अश्रु ग्यास प्रहार गरेर दमन गर्यो । लकडाउनको सुरुवाती चराणमा राम्रै साथ दिएका जनता यही अवधिमा सरकारले गरेका कमी कमजोरीहरु थपिदै गएपछि आन्दोलित भएका हुन् ।
कोरोनाविरुद्धको लडाई चलिरहेका बेला भारतले नेपाली भूमिमा सडक निर्माण सकेर उद्घाटन गर्यो । र सबैको ध्यान भारतले नेपालको भूमि अतिक्रमण गरेकोतर्फ मोडियो । सरकारले पनि आवश्यक कदम चालेर नेपाली भूमि समेटिएको नयाँ नक्सा सार्वजनिक गर्यो । यसलाई सबै राजनीतिक दल र जनताले पूर्ण रुपमा समर्थन गरेका छन् । तर नक्सा सार्वजनिक गरेर प्रशंसनीय काम गरेको सरकारले कोरोनाविरुद्धको लडाईमा भने धेरै कमजोरी गर्यो ।
जसका कारण अहिले सडकमा जनता उत्रिएका छन् । तर जनताले उठाएका प्रश्नलाई सरकारले गम्भीरतापूर्वक लिएको छैन । जसका कारण दिनप्रतिदिन सडक तात्न थालेको छ । यो बेला सरकारले गल्ती गर्नु र जनता सडकमा आउनुले कोरोनाको महामारी झन फैलिने त्रास बढेको छ । तसर्थ सरकारले जनताले गरेका प्रश्नको जवाफ दिएर सच्चिन नै उत्तम विकल्प हुन सक्छ ।
यसैबीच शनिबार प्रतिनिधिसभामा संविधान संशोधन विधेयकमाथि दफाबार छलफल र विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । नेपालले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरा सहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संविधान संशोधन गर्न लागेको छ ।
उक्त संशोधन प्रक्रिया संसदमा अघि बढाउन लागिएकै दिन सडकमा सरकारविरोधी प्रदर्शनको आयोजना गरिएको छ । जसका कारण सरकारको कमी कमजोरी औँल्याउने नाममा नयाँ नक्साको विरोध गर्न खोजिएको कतिपयको आरोप छ । तर शनिवार काठमाण्डौ लगायत देशका विभिन्न स्थानमा सरकार विरोधी प्रदर्शन गर्न लागेका युवाहरुले भने पूर्व निर्धारित कार्यक्रम भएकाले गलत अर्थमा नबुझिदिन आग्रह गरेका छन् ।