Logo

लकडाउनमा हजारौं युवा सडकमा, सरकारले के गर्ला ?



काठमाडौं, ३१ जेठ । सरकारले कोभिड १९ को रोकथामका लागि चालेको कदमकाविरुद्ध सडकमा उत्रिएका युवाहरुले आज पनि प्रदर्शन गर्ने भएका छन् । आजपनि राजधानीमा विरोध प्रदर्शनको तयारी भएको छ ।

कुनै राजनीतिक दल या समुहबाट आव्हान गरेर नभई सामाजिक सञ्जालमा सक्रिय युवाहरुले सरकारविरुद्ध केही दिनयता प्रदर्शन गरिरहेका छन् । उनीहरुले कोभिड १९ मा सरकारले गरेको १० अर्ब खर्च विवरण देखाउनुपर्ने, भ्रष्टाचार गरेको भए कारबाही गर्नुपर्ने, युवालाई रोजगार दिनुपर्नेलगायतका माग राखेका छन् ।

युवा सडकमा आउने क्रम दिनानुदिन बढेपछि सरकार गम्भीर भएको छ । सरकारविरोधी दलहरुले भने असन्तुष्ट युवाको पक्षमा बोलेका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले युवालाई सडकमा आउन भन्दै प्रहरीलाई पनि दमन नगर्न आग्रह गरेका छन् । उनले देशमा भ्रष्टाचारको गन्ध आएको र समस्याहरु सरकारले बढाएकोले युवाहरु सडकमा आएको बताए ।

तर, उपप्रधानमन्त्री पोखरेलले लकडाउनका बखत प्रदर्शन नगर्न आग्रह गरेका छन् । लकडाउन खुकुलो बनाएको अवस्थामा कोरोना भाइरसको जोखिम बढ्नसक्ने भन्दै प्रदर्शन नगर्न आग्रह गरेका हुन् ।

कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र निर्देशन समिति सिसिएमसी का तर्फबाट हिजो प्रेस विज्ञप्तिमार्फत् उपप्रधानमन्त्री पोखरेलले भनेका छन्, संक्रमण बढ्दै गइरहेको र आगामी दिनमा यसमा थप वृद्धि हुने जोखिम देखिएको छ ।

यसैगरी, गृह मन्त्रालयले २९ जेठमा प्रेस विज्ञप्तिमार्फत् लकडाउन उल्लंघन गरी प्रदर्शनमा आउनेलाई छ महिनासम्म थुनामा राख्ने चेतावनी दिएको छ । गृहले सबै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुलाई लकडाउनको उल्लंघन गर्नेमाथि कारबाही गर्न निर्देशन समेत दिएको छ ।-Photo: Mukunda Kalikote/reportersnepal 



प्रतिक्रिया दिनुहोस्