Logo

पशुपतिको आम्दानी १० करोड घट्यो



काठमाडौं, जेठ ३१ । बन्दाबन्दीका समयमा पशुपति क्षेत्रमा हुने विशेष पूजा, भेटी, चन्दालगायत आयमा रु १० करोड घाटा लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले चालू आर्थिक वर्षमा अनुमान गरेको आयमा भेटी आम्दानीबाट रु एक करोड ५७ लाख आठ हजार ७३०, विशेष पूजाबाट रु दुई करोड २५ लाख ७९ हजार ५०० बन्दाबन्दीकै कारण दाखिल हुन नसकेको कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए।

चन्दाबाट दुई लाख ७२ हजार नौ सय १७, पार्किङबाट दुई लाख ९९ हजार नौ सय ३५, गुठी जग्गाबाट हुने आम्दानीमा एक करोड ३२ लाख ९५ हजार आठ सय ६८, पर्यटक प्रवेश शुल्कबाट एक करोड दुई लाख ८२ हजार, क्रियापुत्री सेवाबाट १२ लाख ७५ हजार चार सय ६१, तिलगङ्गा धर्मशालाबाट चार लाख ३९ हजार दुई सय ३४, विद्युतीय शवदाहगृह सञ्चालनबाट १० लाख ८६ हजार सात सयय ५० कोषलाई घाटा लागेको उनको भनाई छ ।
अन्य शीर्षकमा समेत गरी अनुमानित रु १० करोड छ लाख ७२ हजार ६३९ घाटा भएको कोषले जनाएको छ । चैत लागेदेखि नै पशुपति क्षेत्रमा सीमित भक्तजनलाई मात्र प्रवेश गराइएको थियो । चैत ११ देखि जारी बन्दाबन्दीका क्रममा मूल मन्दिरलगायत पशुपति क्षेत्रमा भक्तजन आवतजावत पूर्णरूपमा बन्द गरिएको छ ।

घाट, क्रियापुत्री, विद्युतीय शवदाह गृहलगायत अत्यावश्यक सेवा भने दूरी कायम गरेर सञ्चालनमा छ । मूल मन्दिरलगायत अन्य मन्दिरमा हुने नित्यपूजा भने जारी छ । कारोनाको सङ्क्रमणबाट उपत्यकामा निधन भएकाको शवदाह विद्युतीय गृहमा गर्दा कम्तीमा ३६ घण्टासम्म निर्मलीकरणका लागि बन्द हुने गरेको छ ।रासस



प्रतिक्रिया दिनुहोस्