काठमाडौं, ३१ जेठ । आज विहानै सामाजिक सञ्जाल फेसबुकको एउटा पेजमा लेखिएको थियो, ‘अति भयो सरकारसँग हाम्रा यी माग छन् । माग बुँदागत रुपमै उल्लेख छन् ।
आज बोल ! भोलि बोल ! र दैनिक बोल ! घरमा बोल ! सडकमा बोल ! चर्को स्वरले बोल ! चितवनमा बोल ! धरानमा बोल ! सबैतिर बोल ! फेसबुकमा झण्डै दुई लाख संख्यामा ग्रुप भइसकेको यो पेजमा लेखिएको छ ।
यो पेजमा लेखिएको भरमा सडकमा हजारौं मानिस लकडाउन उल्लंघन गर्दै उत्रिएकोमा सरकारमा रहेकाहरु पत्याइरहेका छैनन् । यसमा भित्र भित्र कसै न कसैले खेल्न थाल्यो भन्नेबारे सुरक्षा निकाय देखि विभिन्न सुत्रमार्फत प्रधानमन्त्री कहाँ रिपोर्ट पुगिसकेको बुझिएको छ ।सडकमा देखिएका युवामा नेपाली काँग्रेस निकट नेविसंघ, राजावादी, विप्लव माओवादी मात्र नभई नेकपाकै ओलीइतरसँग नजिकका पनि देखिएको रिपोर्ट पुगेको छ ।
अहिले सडकमा आएका मानिसहरुलाई कस्ले भित्र भित्र ऊर्जा दिदैछ ? यसबारे प्रधानमन्त्री ओलीको भित्रियाहरुमा छलफल भएको छ । शंकाको सुई धेरैतिर सोझिएको छ । सबैभन्दा बढी आफ्नै पार्टीका नेताहरुतिर सोझिएको छ ।
नेकपाभित्र आन्तरिक द्वन्द्व चर्कंदै जाँदा हजारौंको संख्यामा युवाहरु सडकमा आउनुले आशंका गर्ने ठाउँ रहेको छ । अहिले ओलीलाई सत्ताबाट हटाउन भित्र भित्र रणनीति बनेको छ । यसअघि बनेको रणनीति असफल भएको जगजाहेर छ । यसपटक एमसीसीको अस्त्र हानेर ओली हटाउन सकिन्छ कि भनेर सक्रिय भएकाहरु पनि लागेका छन् ।
नयाँ नक्शा जारी गरेर ओली लोकप्रीय बनेका छन् । उनको लोकप्रीयता कमजोर बनाउन १० अर्बको हिसाबकिताबको विषय उठेको छ । युवाहरु सडकमा आएर हिसाबकिताब मागेका छन् । यसले ओली निकटस्थहरुलाई अत्याएको छ । सडकमै लकडाउन तोडेर मान्छे आउन थालेर मात्रले त्रास बढेको होइन । एकातर्फ सत्ता ढाल्ने खेल अर्कोतर्फ सडकमा कुनै जिम्मेवार क्षेत्रको नेतृत्व विनाको युवाहरुको भेल ।
नक्शा जारी गरी निशान छापसम्बन्धि संविधान संशोधन पारित हुनैलाग्दा पनि सडकमा मान्छे आउन छाडेनन् । कतिपयले यसलाई दक्षिणको खेलका रुपमा पनि देखाउन नखोजेका होइनन् । युवा सडकमा आउँदा कुनै राजनीतिक दल नेतृत्व लिन तयार छैनन् । तर, सबैले ठिक भयो भनिरहेका छन् । यो चाहिं रहस्यकै विषय बनेको छ ।-Photo: Mukunda Kalikote